स्वर्णिम वाग्लेको भारतसम्बन्धी अभिव्यक्तिले विवाद, बाँस्कोटा र कमल थापाको आपत्ति

डिसी नेपाल
८ कार्तिक २०८३ १०:२४
8
Shares

काठमाडौं। भारतको नयाँदिल्लीमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा नेपाली राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोडेर हेर्ने युग सकिएको बताएका थिए। उनले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउँदै आर्थिक सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिएका थिए।

वाग्लेको उक्त अभिव्यक्तिप्रति नेकपा एमालेका नेता गोकुल बाँस्कोटा र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले आपत्ति जनाएका छन्। उनीहरूले सीमा विवाद, डुबान र नाकाबन्दीजस्ता विषयमा नेपालको हितका लागि आवाज उठाउनु भारतविरोधी राष्ट्रवाद नभई राष्ट्रिय हितप्रतिको प्रतिबद्धता भएको बताएका छन्।

एमाले नेता बाँस्कोटाले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री बालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणमा सीमा विवादबारे छलफल हुन्छ कि हुँदैन भन्ने प्रश्न उठाएका छन्। उनले वाग्लेको अभिव्यक्तिलाई लिएर सरकारको भारतसम्बन्धी नीतिमाथि पनि प्रश्न गरेका छन्।

त्यस्तै, राप्रपा नेता थापाले वाग्लेको अभिव्यक्तिलाई नेपाली राष्ट्रियतामाथिको अवमूल्यन भन्दै आलोचना गरेका छन्। नेपालको राष्ट्रवाद कुनै देशको विरोधमा आधारित नरहेको उल्लेख गर्दै उनले विदेशी मञ्चमा राष्ट्रिय सरोकारका विषयलाई कमजोर बनाउने गरी अभिव्यक्ति दिनु गैरजिम्मेवार भएको टिप्पणी गरेका छन्।

थापाले सीमा विवाद, डुबान र नाकाबन्दीजस्ता विषयमा आवाज उठाउनु भारतविरोध नभई राष्ट्रप्रतिको निष्ठा भएको बताएका छन्। साथै, वाग्लेको अभिव्यक्ति विगतमा उनले अघि सारेको भनिएको ‘मुनरो डक्ट्रिन’सँग सम्बन्धित छ कि भन्दै प्रश्न गरेका छन्।

उनले जिम्मेवार पदमा रहेका व्यक्तिले राष्ट्रिय हितका विषयमा स्पष्ट धारणा राख्नुपर्ने बताउँदै वाग्लेको अभिव्यक्ति नै सरकारको आधिकारिक धारणा हो कि होइन भन्नेबारे जवाफ मागेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *