प्रकृतिको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम (तस्बिरसहित)

डिसी नेपाल
८ कार्तिक २०८३ ११:४१
4
Shares

बाजुरा। प्रकृतिभित्रै पनि स्वर्ग भेटिन्छ। मनमा कौतूहल र आश्चर्य लाग्न सक्छ। यो सृष्टिमा असम्भव भन्ने कुरा केही नहुँदो रहेछ। प्रकृतिभित्रै पनि स्वर्ग भेटिने रहेछ भन्ने ज्वलंत उदाहरण हो, मुगु जिल्लामा अवस्थित ‘महेन्द्र ताल’ अर्थात् रारा ताल।

प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगमको यो क्षेत्र निकै अद्भुत र अलौलिक छ। धर्तीमै भेटिएको प्रकृतिको स्वर्ग हो रारा। नीलो आकाश सरह पानी, वरपर कोणधारी वन, टाढा देखिने हिमशृङ्खला, हरियालीको शीतलता र पर्यटक आकर्षणको केन्द्र रहेको रारा आफैँमा सौभाग्यवती छ।

नीलो आकाशको छाया, कञ्चन पानीमा प्रतिबिम्बित पहाड, चारैतिर फैलिएको हरियाली र मनलाई स्पर्श गर्ने शान्त वातावरण यहाँ पाइन्छ। प्रकृतिका यी अनुपम दृश्यले सजिएको रारा ताललाई नियाल्दा आभास हुन्छ, ‘जति हेरे पनि धित नमर्ने ठाउँ। शब्दमा जति बयान वर्णन गरे पनि अपूरो रहने सौन्दर्यको स्वर्ग रारा।’

समुद्री सतहदेखि २ हजार ९ सय ९० मिटरको उचाइमा अवस्थित यो ताल एक स्वर्गको टुक्रा हो। नेपालकै सबैभन्दा ठूलो र प्रसिद्ध यस तालको सुन्दरताको जति बयान गरे पनि कमै हुन्छ। धर्तीको स्वर्ग, कुनै अप्सराभन्दा कम नभएकाले नै होला रारालाई ‘स्वर्गकी अप्सरा’ भनिएको।

घामका किरणसँग लुकामारी खेल्दै स्वच्छता र शीतलता दिने रारा साँच्चिकै प्रकृति कति सुन्दर छ भन्ने एउटा गतिलो उदाहरण हो। राष्ट्रिय निकुञ्जभित्र नीलो पानीले घेरिएको यो ताल हेर्दा कसैका आँखा थाक्दैनन् होला। लाग्छ, यो धर्तीमा ‘स्वर्ग कहीं छ भने यहीं छ।’

गाढा नीलो पानीले भरिएको ताल, रूप फेरिरहने शान्त वातावरण, नीलो आकाश, र तालको छालसँग देखिने प्राकृतिक सौन्दर्यले सबैलाई मोहित पार्छ। तालको किनारमा फैलिएको घना वनजंगल र पृष्ठभूमिमा देखिने हिउँले ढाकेका हिमालले राराको सौन्दर्यतालाई थप जीवन्त बनाउँछ। घुमन्तेहरूका लागी यो सपनाको गन्तव्य हो।

अनुपम उपहारले सजिएको रारामा पुग्ने जोकोहीको मन लोभिने गर्छ। तालको नीलो पानीमा प्रतिबिम्बित पहाड र आकाशले यहाँको सौन्दर्यतालाई अझै मनमोहक बनाउँछ। लाग्छ, प्रकृतिले आफ्ना सम्पूर्ण सुन्दरता एकै ठाउँमा सुम्पिएको छ। रारा केवल घुम्ने पर्यटकीय गन्तव्य मात्रै होइन, यो अनुभव र अनुभूति साटासाट गर्ने माध्यम पनि हो।

राराका आकर्षणहरू

रारा नेपालको भर्जिन क्षेत्र र साहसिक यात्राको एक प्रमुख गन्तव्य पनि हो। यो ताल बिहान कालो, दिउँसो नीलो र साँझ सप्तरङ्गी देखिन्छ। तालको नीलो पानी, वरपरको कोणधारी वनजंगल र यहाँको सौन्दर्य नै मुख्य आकर्षण हुन्।

त्यस्तै, ४ हजार मिटर माथिको मुर्माटप यहाँको अर्को आकर्षणको केन्द्र हो, जहाँबाट पूरै तालको दृश्य स्पष्ट नियाल्न सकिन्छ। चराचुरुङ्गीको चिरबिरले मन प्रफुल्लित पार्छ भने तालमा बोटिङ गर्दाको क्षण तथा तालको छेउमा टेन्टमा रात बिताउनुको आनन्द बेग्लै हुन्छ।

त्यति मात्र होइन, यहाँबाट फर्किंदा मनोरम दृश्यबाहेक कर्णालीका स्थानीय उत्पादन, घरेलु उत्पादन, टोपी, कपडा र स्याउका परिकारहरूले पर्यटकको ध्यान अझै तान्छन्। राष्ट्रिय निकुञ्जभित्र रहेका रेडपाण्डा, कस्तुरी मृग, हिमाली कालो भालु तथा विभिन्न प्रजातिहरूका चराचुरुङ्गी यहाँका अमूल्य गहना हुन्।

ऋतुअनुसार बदलिने प्राकृतिक रङ, वसन्तमा फुल्ने फूल, शरदमा खुल्ने नीलो आकाश र हिउँदमा देखिने हिउँ यहाँका विशेषता हुन्। मुगाली समुदायको मौलिक संस्कृति, परम्परा, खानपान र स्थानीय जीवनशैलीले रारालाई अझ जीवन्त बनाएर राखेका छन्।

नीलो पानीमा प्रकृतिको प्रतिबिम्ब

राराको सबैभन्दा ठूलो विशेषता यसको अनुपम प्राकृतिक बनावट हो। नीलो पानीमा देखिने प्रकृतिको प्रतिबिम्बले सबैको ध्यान केन्द्रित गर्छ। नीलो पानीमा दन्तपङ्ती हिमाल र वरपरको वनजंगल देख्दा लाग्छ, सायद पानीभित्र पनि अर्को सुनौलो प्रकृतिको संसार छ।

विशाल तालले नीलो कपडा ओढेको र हिमालको मुस्कानले ताल सधैँ हाँसिरहेको प्रतीत हुन्छ। टिमिक्क नौरङ्गे सारीमा उनिएकी सुन्दर अप्सरा जस्तै रारा देखिन्छ। सुन्दर दृश्य क्यामेरामा कैद गर्न खोज्ने र मनलाई शान्त बनाउन चाहनेका लागि यो विशेष गन्तव्य हो। तालको पानीभित्र संसारमा अन्यत्र नपाइने ‘स्नो ट्राउट’ माछा रमाइरहेका हुन्छन्।

यस तालमा सिस्ने हिमाल र कान्जिरोवा हिमालको मनोरम दृश्य देखिन्छ। संसारमै अनौठो नीलो पानीको यो ताल ५.२ किलोमिटर लम्बाइ, २.७ किलोमिटर चौडाइ, १६७ मिटर गहिराइ र १० हजार ६२७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको सुन्दरताको खानी हो। रारा केवल घुम्ने गन्तव्य मात्र होइन, प्रकृतिले उपहारस्वरूप प्रदान गरेको सुन्दर मायाको चिनो हो।

जैविक विविधता

भनिन्छ, ‘रारा पुग्ने सुसुकैलाई स्वर्गमा पुगेको आभास हुन्छ। त्यसैले ढुङ्गाको मन भएकाहरूले पनि यो ठाउँमा पुगेपछि रमाउने र विभिन्न रचनाहरू फुराउने गर्छन्।’ रारा एउटा त्यस्तो गन्तव्य हो, जहाँ आनन्द मात्र होइन, जीवनमा मिल्न नसकेको अपार हाँसो र खुसी मिल्छ।

नेपालमा रहेका ८६७ प्रजातिहरूका चराहरूमध्ये रारामा मात्रै २३६ प्रजातिहरू पाइन्छन्। आकाशबाट हेर्दा उपत्यका जस्तो लाग्ने राराको रङ गाढा नीलो देखिन्छ। जेठदेखि असोजसम्मको मौसममा विभिन्न फूलहरूसँगै रमाउने रारा निकै सुन्दर देखिन्छ। अझ भनाैँ, तालको शोभा निकुञ्जमा पाइने विभिन्न वन्यजन्तु र चराचुरुङ्गीले बढाएका हुन्छन्।

रारामा विश्वमा दुर्लभ असला जातका माछा, रानी ट्राउट, भ्यागुतो, कस्तुरी, रेडपाण्डा, मृग, घोरल, भालु र रतुवा लगायतका वन्यजन्तुहरूको अवलोकनका लागि यो क्षेत्र महत्त्वपूर्ण मानिँदै आएको छ। जैविक विविधतामा धनी राराले वर्षैपिच्छे लाखौँको सङ्ख्यामा पर्यटकहरू भित्र्याउने गरेको छ।

पर्यटकीय सम्भावना

राराको पर्यटकीय सम्भावनाको वर्णन गरेर साध्य छैन। प्रचुर पर्यटकीय सम्भावना बोकेको रारालाई नेपाल सरकारले अझै विशेष ध्यान दिन सकेको खण्डमा पर्यटकको सङ्ख्यामा वृद्धिका साथै स्थानीय स्तरमा रोजगारीका अवसरहरू सिर्जना गर्न सकिने बलियो सम्भावना छ।

यो प्राकृतिक सौन्दर्यको केन्द्र मात्रै नभई कर्णाली प्रदेशको पर्यटन विकासको महत्त्वपूर्ण आधार समेत हो। यसको प्रचारप्रसार र व्यवस्थित विकासले मुगु जिल्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न सक्छ। यहाँ आउने पर्यटकले प्राकृतिक दृश्यावलोकन, पदयात्रा, फोटोग्राफी तथा स्थानीय संस्कृति र रहनसहनको प्रत्यक्ष अनुभव लिन सक्छन्।

पर्यटकको आवागमन बढ्दै जाँदा स्थानीय होटल, होमस्टे, यातायात, कृषि उत्पादन र हस्तकलासँग सम्बन्धित व्यवसायहरूले समेत प्रत्यक्ष लाभ लिन सक्ने प्रचुर सम्भावना छ। यद्यपि, राराको पर्यटन विकासलाई केवल पर्यटकको सङ्ख्यासँग जोडेर हेर्नु मात्र पर्याप्त नहुन सक्छ। पर्यटकीय पूर्वाधारको विकास, सहज यातायात, प्रभावकारी सञ्चार र व्यापक प्रचारप्रसार गर्न सके पर्यटकीय सम्भावना अझ बलियो देखिन्छ।

योजनाबद्ध ढङ्गले पर्यटन प्रवर्द्धन गर्न सके राराले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन महत्त्वपूर्ण योगदान दिन सक्छ। यस क्षेत्रको सौन्दर्य जति आकर्षक छ, यसको संरक्षणमा समेत उत्तिकै ध्यान दिनु आवश्यक छ। पर्यटकको चाप बढ्दै जाँदा फोहोर व्यवस्थापन, तालको स्वच्छता, वनजंगल संरक्षण र जैविक विविधताको सुरक्षामा गम्भीर बन्नुपर्ने देखिन्छ।

प्रचुर सम्भावना बोकेको रारालाई सबै क्षेत्रबाट अझै व्यवस्थित गर्नुका साथै स्थानीय समुदाय, सरकार र पर्यटन व्यवसायीबीचको सहकार्य हुन सके राराको मौलिकता जोगाउँदै पर्यटनलाई दिगो बनाउन सकिनेछ। अथाह सम्भावना बोकेको रारा नेपालको एक बहुमूल्य गहना हो।

रारा: कर्णालीको गौरव, नेपालको पहिचान

रारा ताल मुगु जिल्लाको मात्र गौरव होइन, यो सिङ्गो नेपालको राष्ट्रिय पहिचान हो। साथै, प्राकृतिक पहिचानलाई विश्वसामु चिनाउने एक महत्त्वपूर्ण सम्पदा हो। कर्णाली हरेक सम्भावनाले भरिपूर्ण क्षेत्र हो र यसले नेपालको शिर कहिल्यै झुक्न दिँदैन। रारा त केवल एуटा गतिलो उदाहरण मात्रै हो, यस्ता सम्भावनायुक्त क्षेत्रहरू यहाँ अझै धेरै छन्।

रारा प्रकृतिले दिएको अनुपम उपहार हो, ‘जहाँ नीलो पानीले मन लोभ्याउँछ, हरियालीले शीतलता दिन्छ र शान्त वातावरणले मनलाई आनन्दित बनाउँछ।’ प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम बनेको रारा केवल घुम्ने गन्तव्य मात्र होइन, प्रकृतिलाई माया गर्न र यसको संरक्षणको महत्त्व बुझ्न सबैलाई प्रेरित गर्ने एक सुन्दर धरोहर पनि हो। सुन्दर प्रकृतिभित्रको स्वर्ग भनेको यहीँ रारा हो।

तस्विरहरू : गोविन्द्र राज तिमिल्सेना, नेपाल न्यूज बैंक


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *