काठमाडौंमा फिल्म फेस्टिभलको पूर्वसन्ध्यामा सम्पदा दौड आयोजना

डिसी नेपाल
८ कार्तिक २०८३ १४:५५
8
Shares

काठमाडौं। काठमाडौं महानगरपालिकाले काठमाडौँ फिल्म फेस्टिभलको पूर्वसन्ध्यामा आइतबार १० किलोमिटर दूरीको ‘काठमाडौं फिल्म फेस्टिभल हेरिटेज रन’ (सम्पदा दौड) आयोजना गरेको छ। बिहान ६ बजे वसन्तपुरबाट सुरु भएको दौड विभिन्न ऐतिहासिक तथा सांस्कृतिक सम्पदा क्षेत्र हुँदै पुनः वसन्तपुरमै पुगेर समापन भएको थियो।

दौडका लागि ७०४ जनाले नाम दर्ता गराएका थिए। तीमध्ये १५२ महिला र ५५२ पुरुष छन्। निर्धारित समयभित्र नाम दर्ता गराएका ५५० धावकबीच प्रतिस्पर्धा हुनेछ भने अन्य १२४ जनाले प्रतियोगिताबाहिर रहेर दौडमा सहभागिता जनाएका थिए।

धावकलाई प्रोत्साहन गर्न लगातार तीनवटा प्यारालिम्पिकमा स्वर्ण, रजत र कांस्य पदक जितेकी अस्ट्रेलियाली खेलाडी क्याट्रिना वेब सहभागी हुने कार्यक्रम छ। नेपाली धावक सन्तोषी श्रेष्ठ र हरिबहादुर रोकायालगायत खेलाडीले पनि धावकलाई प्रोत्साहन गरेका छन्।

दौडमा काठमाडौं महानगरपालिकाका १३ वटा वडा समेटेको छ। वसन्तपुरबाट सुरु हुने मार्ग इन्द्रचोक, असन, जमल, दरबारमार्ग, नागपोखरी, नक्साल, हाँडीगाउँ, मालीगाउँ, कालोपुल, गौशाला, मैतीदेवी, डिल्लीबजार, रामशाहपथ, भद्रकाली, सहिदगेट, धरहरा र न्युरोड हुँदै पुनः वसन्तपुर पुरेको थियो। महिला र पुरुष दुवै समूहका प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ पुरस्कार पाएका छन् भने दौड पूरा गर्ने सबै धावकलाई पदक प्रदान गरिएको छ।

महानगरपालिकाको आयोजनामा कात्तिक १३, १४ र १५ गते काठमाडौं फिल्म फेस्टिभल आयोजना हुँदैछ। महोत्सवमा युवा चुनौती, नेपाल पानोरामा र अन्तर्राष्ट्रिय पानोरामा विधाअन्तर्गत ४० वटा चलचित्र, लघुचलचित्र तथा वृत्तचित्र प्रदर्शन गरिनेछन्। साथै रेड कार्पेट, विशेष प्रशिक्षण कक्षा, छलफल र पुरस्कार वितरणलगायत कार्यक्रम पनि सञ्चालन हुनेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *