रसुवाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि दिइने
रसुवा । नुवाकोटमा अस्थायी रूपमा बसोबास गर्दै आएका रसुवाको उत्तरगया गाउँपालिकाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि उपलब्ध गराउने प्रक्रिया सुरु भएको छ।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका महत्वपूर्ण कागजात नष्ट भएपछि जिल्ला प्रशासन कार्यालय रसुवाले उनीहरू बसेकै स्थानमा पुगेर नागरिकताको प्रतिलिपि उपलब्ध गराउने प्रक्रिया अघि बढाएको हो।
प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेका अनुसार बाढी प्रभावितलाई राहत, पुनःस्थापना तथा अन्य अत्यावश्यक प्रशासनिक सेवा लिन सहज होस् भन्ने उद्देश्यले होल्डिङ सेन्टरमै पुगेर आवेदन सङ्कलन गरिएको हो।
उनका अनुसार नुवाकोटको पिपलटार होल्डिङ सेन्टरमा बस्दै आएका उत्तरगया गाउँपालिका–१ का २०२ जना बाढी प्रभावितले नागरिकताको प्रतिलिपिका लागि दिएको आवेदन सङ्कलन गरी आइतबार सदरमुकाम धुन्चे ल्याइएको छ।
सङ्कलित आवेदनको अध्ययन तथा प्रमाणीकरणपछि तयार हुने नागरिकताको प्रतिलिपि सम्बन्धित होल्डिङ सेन्टरमै पुगेर हस्तान्तरण गरिने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए।
जिल्ला प्रशासन कार्यालय रसुवाको आयोजना र उत्तरगया गाउँपालिकाको विशेष पहलमा सेवा सुरु गरिएको गाउँपालिका अध्यक्ष माधव अर्यालले जानकारी दिए। उनका अनुसार पहिलो चरणमा नागरिकताको प्रतिलिपि वितरणलाई प्राथमिकता दिइएको छ। बाढी प्रभावितलाई आवश्यक अन्य प्रशासनिक सेवासमेत क्रमशः उपलब्ध गराउँदै लगिनेछ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment