भारतको विरोध गरेर मात्रै राष्ट्रियता मजबुत हुँदैन: रास्वपा सांसद जगदीश खरेल

डिसी नेपाल
११ कार्तिक २०८३ १८:४१
16
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले भारतको विरोध वा गाली गरेर मात्रै नेपाली राष्ट्रियता बलियो हुन नसक्ने बताएका छन्। अर्थमन्त्री स्वर्णिम वाग्लेले हालै भारतमा दिएको अभिव्यक्तिको बचाउ गर्दै उनले छिमेकी मुलुकसँग सहकार्य र सद्भाव कायम राख्ने आशयका साथ उक्त भनाइ आएको दाबी गरे।

रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै दोलखाबाट निर्वाचित सांसद खरेलले भारतसँग देखिएका सीमा विवाद तथा अन्य समस्याहरूलाई कूटनीतिक पहल र संवादका माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिए। उनले कसैलाई गाली गरेर राष्ट्रियता बलियो नहुने भन्दै भारतको विरोध गरेर राष्ट्रवादी बन्ने युग सकिएको स्पष्ट पारे।

यसैगरी, प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा नेपालले पनि भारतको जमिन मिचेको भनी दिएको अभिव्यक्तिको बचाउ गर्दै खरेलले त्यो प्रधानमन्त्रीको व्यक्तिगत विचार नभई विगतका सरकारहरूले तयार पारेका आधिकारिक दस्तावेजकै आधारमा बोलिएको दाबी गरे। रास्वपा सत्तामा रहे पनि सत्य बोल्न नहिचकिचाउने उल्लेख गर्दै उनले भने, “रास्वपाले जे देख्छ, त्यही बोल्छ। त्यसैले संसदमा कहिलेकाहीँ हाम्रा सांसदहरू प्रतिपक्षीजस्ता देखिन्छन्।”

आफूहरू केवल पदका लागि नभई देश निर्माणको स्पष्ट लक्ष्यसहित राजनीतिमा आएको दाबी गर्दै उनले रास्वपा जिम्मेवार भएर अघि बढ्ने र विपक्षीलाई गाली गर्ने राजनीतिमा नलाग्ने बताए।

यस्तै, पार्टीका अर्का सांसद खगेन्द्र सुनारको विवादास्पद अडियो प्रकरणबारे बोल्दै खरेलले अहिलेसम्म कसैले पनि आफू पीडित भएको दाबी नगरेको बताए। उक्त अडियोका कारण अन्यायमा परेको भन्दै कोही व्यक्ति बाहिर आएको खण्डमा मात्र सांसद सुनारमाथि कारबाही हुनुपर्ने उनको भनाइ थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *