हेटौंडामा प्रदेश शिक्षामन्त्री र विश्वविद्यालयहरूको सम्मेलन सुरु
हेटौंडा (मकवानपुर)। शिक्षा क्षेत्रको समग्र विकास, उच्च शिक्षाको गुणस्तर सुधार तथा अन्तरप्रदेशीय सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ बागमती प्रदेशको राजधानी हेटौँडामा प्रदेशका शिक्षा तथा सामाजिक विकास मन्त्रीहरू र प्रदेश विश्वविद्यालयहरूको दुईदिने सम्मेलन आजदेखि सुरु भएको छ।
कात्तिक १३ गतेसम्म सञ्चालन हुने उक्त सम्मेलनको उद्घाटन संघीय सरकारका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गरे।
सम्मेलनमा विभिन्न प्रदेशका मन्त्री, विश्वविद्यालयका उपकुलपति तथा कुलपति, रजिस्ट्रार, प्रदेश सरकारका सचिव, राष्ट्रिय योजना आयोगका सदस्य, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष र शिक्षा क्षेत्रका विज्ञहरूको सहभागिता रहेको छ।
बागमती विश्वविद्यालयका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलको अध्यक्षतामा आयोजित उद्घाटन सत्रमा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर विशिष्ट अतिथिका रूपमा सहभागी भए। कार्यक्रमको उद्घाटन सत्रमा अध्यक्ष पौडेलले उच्च शिक्षाको वर्तमान अवस्था र भावी दिशासम्बन्धी विशेष प्रस्तुति दिए।
सम्मेलनको पहिलो दिन कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिहरूले आ-आफ्नो प्रदेशको शिक्षा क्षेत्रमा भएका असल अभ्यास, प्रमुख उपलब्धि तथा विद्यमान चुनौतीबारे अनुभव आदानप्रदान गर्ने कार्यक्रम रहेको छ। यसका साथै, प्रदेशहरूबीच सहकार्यका सम्भावित क्षेत्रहरू पहिचान गर्न गहन छलफल गरिने आयोजकले जनाएको छ।
सङ्घीयता कार्यान्वयनका क्रममा शिक्षा क्षेत्रमा देखा परेका अवसर तथा चुनौती, सङ्घ र प्रदेशबीचको आवश्यक समन्वय, प्रदेश विश्वविद्यालयहरूको संस्थागत विकास र उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका विषयमा सम्मेलनमा विस्तृत छलफल हुने बताइएको छ।
त्यसैगरी, प्रदेशहरूबीच शैक्षिक ज्ञान, अनुभव र स्रोतसाधनको आदानप्रदान गर्दै उच्च शिक्षाको विकासका लागि साझा रणनीति निर्माण गर्ने विषयलाई सम्मेलनले उच्च प्राथमिकतामा राखेको छ।
दुई दिनसम्म सञ्चालन हुने यस सम्मेलनले प्रदेशस्तरको शिक्षा प्रणालीलाई थप सुदृढ र प्रभावकारी बनाउन, उच्च शिक्षाको विकासमा सहकार्यका क्षेत्रहरू पहिचान गर्न तथा आगामी दिनमा अवलम्बन गर्न सकिने नीतिगत र व्यावहारिक उपायबारे साझा धारणा निर्माण गर्न ठोस सहयोग पुग्ने अपेक्षा गरिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment