जुगल-२ हिमालमा पहिलोपटक सफल आरोहण, स्पेनी टोलीले रच्यो इतिहास

डिसी नेपाल
१४ कार्तिक २०८३ २१:१४

सिन्धुपाल्चोक।  सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित जुगल हिमशृङ्खलाको छ हजार ५१८ मिटर अग्लो जुगल-२ हिमालको पहिलोपटक सफल आरोहण भएको छ। स्पेनका तीन पर्वतारोही माइकल जाबाल्जा, माइकल साएज र रुवेन पेरेजले जुगल-२ को सफल आरोहण गरेका हुन्।

जुगल गाउँपालिका पर्यटन समितिका अध्यक्ष मिलन तामाङका अनुसार आरोही टोली हिमालको सफल आरोहण गरी सुरक्षित रूपमा आधारशिविर फर्किसकेको छ। पहिलो आरोहणसँगै जुगल हिमशृङ्खलाका अन्य हिमाल आरोहणको ढोका खुलेको र यसले नेपालको पर्वतीय पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा थप प्रवर्द्धन गर्ने तामाङले विश्वास व्यक्त गरेका छन्।

गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले चुनौतीपूर्ण मानिएको जुगल–२ को ऐतिहासिक पहिलो आरोहण गर्न सफल स्पेनी टोलीलाई बधाई दिँदै यस सफलताले जुगल हिमशृङ्खलाको पहिचानलाई विश्वभर स्थापित गर्न मद्दत पुग्ने बताएका छन्।

हाल जुगल गाउँपालिकाले हिमाल आरोहण, पदमार्ग प्रवर्द्धन र पर्यटन पूर्वाधार विकासलाई प्राथमिकता दिँदै ‘जुगल भ्रमण वर्ष २०८३’ सञ्चालन गरिरहेको छ। ‘गन्तव्य जुगल’ अभियानमार्फत स्थानीय हिमाल, पदमार्ग तथा धार्मिक र सांस्कृतिक सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने गाउँपालिकाको लक्ष्य रहेको छ।

यसअघि २०७५ चैत २६ गते सगरमाथा आरोही माया गुरुङको नेतृत्वमा छ हजार १२६ मिटर अग्लो ग्याल्चेन पिक, २०७७ कात्तिक ४ गते सगरमाथा आरोही शर्मिला लामाको नेतृत्वमा सात सदस्यीय टोलीले छ हजार १८४ मिटर अग्लो जुगल–३ हिमाल र २०८१ वैशाखमा विदेशी पर्वतारोहीको टोलीले पहिलोपटक जुगल–१ हिमालको सफल आरोहण गरिसकेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *