डोल्पामा हिमपातमा फसेका छ भारतीय पर्यटकको हेलिकप्टरमार्फत उद्धार

डिसी नेपाल
१५ कार्तिक २०८३ ९:३६
8
Shares

सुर्खेत। डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका-८ दानिगडमा भारी हिमपातका कारण अलपत्र परेका ६ जना भारतीय पर्यटकको हेलिकप्टरमार्फत उद्धार गरिँदै छ।

जिल्ला प्रशासन कार्यालय डोल्पाले आइतबार जारी गरेको जरुरी सूचनाअनुसार केही दिनयता भएको अत्यधिक हिमपातका कारण उनीहरू उक्त क्षेत्रमा फसेका हुन्। प्रशासनले कात्तिक १४ गते उनीहरू फसेको खबर प्राप्त गरेको थियो भने कात्तिक १५ गतेदेखि उनीहरूको हेलिकप्टरमार्फत उद्धारकार्य भइरहेको सूचनामा उल्लेख गरिएको छ।

उद्धार गरिएका पर्यटकहरूमा मौमिता हाल्डर, पियाली कोली, जजला त्रिवेद कुमार, आदित्य सिंघा , डिप्लिना बिस्वास  र राजेश डे रहेका छन्। यीमध्ये दुई महिला र चार पुरुष भारतीय नागरिक हुन्।

प्रसिद्ध शे-फोक्सुण्डो तालको अवलोकनका लागि उनीहरू डोल्पा पुगेका थिए। भ्रमणका क्रममा उच्च हिमाली क्षेत्रमा अचानक भारी हिमपात भएपछि पदमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा उनीहरू त्यहाँ फस्न पुगेका थिए।

जिल्ला प्रशासन कार्यालय डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालद्वारा जारी सूचनामा पर्यटकहरूको सकुशल उद्धार भइरहेको पुष्टि गरिएको छ।

साथै, प्रतिकूल मौसमका कारण उच्च हिमाली क्षेत्रमा थप जोखिम सिर्जना हुन सक्ने भएकाले सम्पूर्ण नागरिक तथा पर्यटकहरूलाई सचेत, सतर्क र सुरक्षित रहन प्रशासनले विशेष अनुरोध गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *