३५ लाख बढी पर्यटक धान्ने होटलको क्षमता, आगमन भने १२ लाखमै सीमित
काठमाडौं । नेपालका होटलहरूले वार्षिक ३५ देखि ४० लाख पर्यटकलाई अन्तर्राष्ट्रिय स्तरको सेवा दिन सक्ने क्षमता राखे पनि त्यसको एक तिहाइ पर्यटकसमेत भित्र्याउन नसकिएको होटल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाहले बताएका छन्।
पर्यटन क्षेत्रको विद्यमान सम्भावनाअनुसार पर्यटक आगमन बढाउन हवाई कनेक्टिभिटी, सरकारी नीति र बजार प्रवर्द्धनमा व्यापक सुधार गर्नुपर्ने उनको भनाइ छ।
अध्यक्ष शाहका अनुसार सन् २०२५ मा नेपालमा ११ लाख ४७ हजार पर्यटक आएका थिए। यो सङ्ख्या नेपाली होटल उद्योगले सेवा प्रदान गर्न सक्ने कुल क्षमताको एक तिहाइभन्दा पनि कम हो। होटल क्षेत्रमा खर्बौं रुपैयाँ लगानी भए पनि पर्यटकको सङ्ख्या अपेक्षाअनुसार बढ्न नसक्दा लगानीको पूर्ण उपयोग हुन नसकेको उनले स्पष्ट पारे।
“हामी छिमेकी मुलुक भारत र चीनको बीचमा छौँ। दुवै देशका करोडौँ नागरिक बर्सेनि बिदा मनाउन विदेश जान्छन्। उनीहरूमध्ये सानो प्रतिशतलाई मात्रै नेपाल भित्र्याउन सके पनि पर्यटनमार्फत ठूलो आर्थिक लाभ लिन सकिन्छ,” शाहले भने।
उनका अनुसार पर्यटन क्षेत्रको विकासले होटल उद्योगलाई मात्र नभई कृषि, यातायात, बैंकिङ, हवाई सेवा तथा अन्य सम्बद्ध व्यवसायहरूलाई समेत प्रत्यक्ष लाभ पुर्याउँछ। यसका लागि सरकारले समयसापेक्ष नीति, कार्यक्रम, ऐन तथा कानुन निर्माण गरी निजी क्षेत्रसँग बलियो सहकार्य गर्नुपर्नेमा उनले जोड दिए।
शाहले पर्यटक आगमन बढाउन पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलहरूलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउनुपर्ने बताए। यी विमानस्थल निर्माण सम्पन्न भएको तीन वर्ष बितिसक्दा पनि अपेक्षाअनुसार सञ्चालन हुन नसक्नु नेपालको पर्यटन विकासका लागि प्रमुख अवरोध बनेको उनको ठम्याइ छ।
“अहिले हामी काठमाडौंको एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा निर्भर रहेर पर्यटकलाई सेवा दिइरहेका छौँ। पोखरा र भैरहवा विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालन गर्न सके भारत र चीनबाट मात्रै पनि लाखौँ थप पर्यटक ल्याउन सकिन्छ,” उनले भने।
पोखराबाट सीमित अन्तर्राष्ट्रिय उडानहरू सुरु भए पनि थप उडान सेवा विस्तार गर्न अत्यावश्यक रहेको उनले बताए। साथै, राष्ट्रिय ध्वजावाहकको सेवा विस्तार र क्षेत्रीय हवाई सम्पर्क सुदृढ गर्न सके पर्यटनबाट देशले उल्लेख्य लाभ हासिल गर्न सक्ने उनको भनाइ छ।
नेपालमा पर्यटन प्रवर्द्धनका लागि केवल हवाई सेवा मात्र पर्याप्त नहुने उल्लेख गर्दै शाहले सडक सञ्जालको स्तरोन्नतिलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने बताए। पोखरा, चितवन र लुम्बिनीजस्ता प्रमुख पर्यटकीय गन्तव्य जोड्ने राजमार्गहरूको निर्माण तथा स्तरोन्नतिको काम छिटोभन्दा छिटो सम्पन्न गर्नुपर्ने उनले बताए।
यसैगरी, युरोपेली संघले नेपाली वायुसेवा कम्पनीहरूलाई आफ्नो हवाई सुरक्षा सूची (ब्ल्याकलिस्ट) मा राखिरहेकाले युरोपेली पर्यटकको आगमनमा असहजता थपिएको उनले उल्लेख गरे। पर्यटन क्षेत्रसँग सम्बन्धित निकायहरूमा रहेका विद्यमान समस्याहरू समाधान गर्दै राष्ट्रिय रणनीति र स्पष्ट कार्ययोजनाका आधारमा अघि बढ्नुपर्ने उनको सुझाव छ।
सीपयुक्त जनशक्तिको अभाव
नेपालमा अन्तर्राष्ट्रिय स्तरका होटल ब्रान्डहरूको उपस्थिति क्रमशः बढ्दै गए पनि दक्ष जनशक्तिको तीव्र अभाव खड्किएको शाहले बताए। उनका अनुसार हाल नेपालमा करिब चार दर्जन अन्तर्राष्ट्रिय होटल ब्रान्डहरू सञ्चालनमा छन्।
नेपाली होटलहरू विश्वस्तरीय सेवा प्रदान गर्न सक्षम भए पनि यहाँ तालिमप्राप्त होटल व्यवस्थापन तथा आतिथ्य सत्कार (हस्पिटालिटी) सम्बन्धी जनशक्ति वैदेशिक रोजगारमा जाने क्रम बढेको उनले बताए।
“हामीले नेपालमै उच्च तालिम दिएका जनशक्ति विदेश पलायन भइरहेका छन्। अर्कोतर्फ, स्वदेशी होटलमा आवश्यक जनशक्ति नपाउँदा विदेशी कामदार ल्याएर काम चलाउनुपर्ने बाध्यात्मक अवस्था छ,” उनले भने।
दक्ष जनशक्तिलाई स्वदेशमै टिकाउन सरकारी नीतिमा सुधार ल्याउनुका साथै नेपाल र विदेशमा काम गर्दा पाइने सेवा–सुविधाबारे पर्याप्त तथा पारदर्शी श्रम सूचना उपलब्ध गराउनुपर्ने उनको सुझाव छ।
पर्यटकको बसाइ लम्ब्याउने गतिविधिमा ध्यान दिनुपर्ने
अध्यक्ष शाहले नेपालमा पर्यटकको बसाइ अवधि बढाउन परम्परागत पर्यटकीय गन्तव्यका साथै नयाँ–नयाँ गतिविधि र अनुभवहरूको सिर्जना तथा विकास गर्नतर्फ ध्यान दिनुपर्ने बताए।
हाल काठमाडौं, चितवन, पोखरा र केही हिमाली क्षेत्रमा मात्रै पर्यटकको भ्रमण सीमित भइरहेकाले सातै प्रदेशका सम्भावनायुक्त पर्यटकीय स्थलहरूको एकीकृत प्रवर्द्धन गरी पर्यटकलाई देशका विभिन्न भागसम्म पुर्याउनु आवश्यक रहेको उनले बताए।
“हामीसँग सयभन्दा बढी प्रचुर सम्भावना बोकेका पर्यटकीय गन्तव्यहरू छन्। ती गन्तव्यहरूसम्म पर्यटकलाई सहज रूपमा पुर्याउन सक्नुपर्छ,” उनले भने। पदयात्रा (ट्रेकिङ), पर्वतारोहणका साथै वेलनेस पर्यटन, खेल पर्यटन, विवाह (वेडिङ) पर्यटन, आध्यात्मिक पर्यटन तथा अन्तर्राष्ट्रिय सम्मेलनहरू (माइस् टुरिजम) लाई नेपालको पर्यटनका थप नवीन सम्भावनाका रूपमा उनले औंल्याए। यस्ता विविध गतिविधि विस्तार गर्न सके पर्यटकको बसाइ अवधि लम्बिने र उनीहरूको औसत खर्चमा समेत उल्लेख्य वृद्धि हुने उनको भनाइ छ।
नेपाल सरकारले सन् २०२७ लाई ‘नेपाल अन्तर्राष्ट्रिय वेलनेस पर्यटन वर्ष’का रूपमा घोषणा गरेको सन्दर्भ उल्लेख गर्दै शाहले यस अभियानलाई सफल बनाउन निजी क्षेत्रले सक्रियताका साथ काम गरिरहेको जानकारी दिए। नेपालको स्वच्छ प्राकृतिक वातावरण, बहुमूल्य जडीबुटी, योग, ध्यान तथा मौलिक पूर्वीय दर्शन र ज्ञानलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न सके वेलनेस पर्यटनबाट व्यापक लाभ लिन सकिने उनले बताए।
दिगो पर्यटनमा जोड
अध्यक्ष शाहले जलवायु परिवर्तनका कारण पर्यटन क्षेत्रमा पर्न सक्ने प्रतिकूल असरहरूलाई ध्यानमा राख्दै वातावरणमैत्री तथा दिगो पर्यटन विकासमा जोड दिनुपर्ने बताए। नेपालमा घट्ने प्राकृतिक विपद् तथा प्रतिकूल मौसमसम्बन्धी समाचारहरूले पर्यटकको भ्रमण निर्णयमा सीधा प्रभाव पार्ने भएकाले पूर्वजोखिम व्यवस्थापन र सूचनाको विश्वसनीयता कायम राख्नु अत्यन्त महत्त्वपूर्ण हुने उनको भनाइ छ।
नेपालले आफ्नो पर्यटन सम्भावनाको पूर्ण उपयोग गरी आर्थिक समृद्धि हासिल गर्न राष्ट्रिय स्तरको स्पष्ट र पारदर्शी कार्ययोजना बनाएर कार्यान्वयन गर्नुपर्ने उनले बताए। हवाई तथा सडक कनेक्टिभिटीको विस्तार, दक्ष जनशक्तिको उचित व्यवस्थापन, नयाँ पर्यटकीय गतिविधिको प्रवर्द्धन र सरकारी तथा निजी क्षेत्रबीचको दरिलो सहकार्यबाट नै पर्यटनलाई देशको आर्थिक समृद्धिको मुख्य आधार बनाउन सकिने निष्कर्ष शाहको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment