जर्मनी र फ्रान्समा महँगी र सैन्य सेवाविरुद्धका प्रदर्शनले लियो उग्र रूप, विभिन्न सहरमा तोडफोड र झडप
बीबीसी। जर्मनीका विभिन्न सहरमा महँगी, सार्वजनिक खर्च कटौती र अनिवार्य सैन्य सेवाको विरोधमा आयोजित प्रदर्शनहरूले हिंस्रक रूप लिएका छन्। प्रदर्शनकारीहरूले पसलहरूमा लुटपाट गर्नुका साथै तोडफोड गरेका छन् भने प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा स्थिति तनावपूर्ण बनेको छ।
जर्मनीमा हिंसात्मक झडप र लुटपाट
जर्मनीको वित्तीय केन्द्र मानिने फ्र्याङ्फर्टको मध्य भागमा दङ्गाकारीहरूले पसलहरूमा लुटपाट मच्चाएका छन्। फ्र्याङ्फर्टबाहेक बर्लिन, कोलोन र ह्यामबर्ग सहरमा पनि हिंसात्मक घटनाहरू भएका छन्।
आन्दोलनकारीहरूलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ भने प्रदर्शनकारीहरूले आपत्कालीन सेवाका कर्मचारीहरूमाथि आतिसबाजी, ढुङ्गा र प्रज्वलनशील पदार्थसहितका बोतलहरू प्रहार गरेका छन्।
फ्र्याङ्फर्ट प्रहरीले सहरको मुख्य सपिङ स्ट्रिट बन्द गराएको छ भने बन्दुक बिक्री गर्ने पसलको झ्याल तोडफोड गर्ने एक सन्दिग्ध व्यक्तिलाई पक्राउ गरी हतियार बरामद गरेको छ।
अधिकारीहरूका अनुसार फ्र्याङ्फर्ट, म्युनिख र बर्लिनमा करिब १८ हजार प्रदर्शनकारीहरू सहभागी भएका थिए। हेस राज्यका आन्तरिक मन्त्री होमान पोसेकले प्रदर्शनमा झन्डै १०० ‘अति वामपन्थी अतिवादीहरूले’ घुसपैठ गरेको जनाउँदै प्रदर्शनको अन्त्य भएको शैली लज्जास्पद रहेको बताएका छन्।
फ्रान्सको अवस्था र अभियानको उद्देश्य
यसैबीच, फ्रान्समा पनि यस्तै किसिमका हिंसात्मक प्रदर्शनहरू भएका छन्। प्यारिसमा आयोजित विरोध प्रदर्शन दङ्गा र लुटपाटमा परिणत हुँदा सडकमा जलेका कार र फुटेका सिसाहरू छरपस्ट भएका थिए। फ्रान्समा करिब ३ लाख २० हजारभन्दा बढी मानिसहरू सडकमा उत्रिएका थिए भने सुरक्षाका लागि ७० हजार प्रहरी परिचालन गरिएको थियो।
‘जेन जी रिग्लेट’ (जेनजीले नेतृत्व लिनुपर्छ) नामक अभियान समूहको आह्वानमा भएका यी प्रदर्शनहरूमा विद्यालयको बजेट घटाइएको, महँगी बढेको, सार्वजनिक खर्च कटौती गरिएको र अनिवार्य सैन्य सेवाको व्यवस्था लागु गरिएकोमा कडा विरोध जनाइएको छ।
उक्त समूहकी प्रवक्ता लीना फ्रिडरिकले प्रदर्शनहरू युद्ध वा जबरजस्तीका लागि नभई शान्ति, स्वतन्त्रता तथा स्वास्थ्य र शिक्षा प्रणालीमा सुधारका लागि भएको स्पष्ट पार्दै आफूहरू अनिवार्य सैन्य सेवाको विपक्षमा रहेको बताएकी छिन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment