हुकुमी शैलीले प्रशासनिक मर्यादा मिचियो : गगन थापा
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सिँचाइ विभागका महानिर्देशकसहितका कर्मचारीलाई प्रहरी नियन्त्रणमा लिएर दबाब दिइएको घटनाप्रति गम्भीर आपत्ति जनाएका छन्।
आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कर्मचारीबाट गल्ती भएको भए कानुनी प्रक्रिया र स्थापित निकायमार्फत अनुसन्धान हुनुपर्नेमा सिधै प्रधानमन्त्री कार्यालयबाट स्वेच्छाचारी र हुकुमी शैली अपनाइएको आरोप लगाए।
पत्रकार सम्मेलनमा सभापति थापाले सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र अर्का एक योजनाका कर्मचारीमाथि भएको धरपकडको विषय उठाउँदै भने, “सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र अर्को योजनाका कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएर राखेको र दबाब दिएको घटना बाहिर आएको छ। यो अत्यन्तै आपत्तिजनक विषय हो।”
कुनै पनि राष्ट्रसेवक कर्मचारीले नियमविपरीत काम गरेमा छानबिन गर्ने स्थापित कानुनी संयन्त्र मुलुकमा रहेको स्मरण गराउँदै उनले भने, “एउटा कर्मचारीले नियमविपरीत काम गरेमा त्यसबारे अध्ययन तथा छानबिन गर्ने राष्ट्रिय सतर्कता केन्द्र छ, अख्तियार दुरुपयोग अनुसन्धान आयोग छ। ती निकायलाई छलेर ‘हामीले जे बोल्यौँ त्यो नै हुकुम हो’ भन्ने सोचका साथ अघि बढ्नु चिन्ताजनक छ।”
राज्यका आधिकारिक संयन्त्रलाई बाइपास गरेर निजामती प्रशासनलाई आतंकित बनाउने शैली लोकतान्त्रिक हुन नसक्ने उनको भनाइ थियो।
“कर्मचारीले कुनै गल्ती गरे प्रधानमन्त्री कार्यालयमा बोलाएर थुन्ने होइन,” थापाले भने, “सरोकारवाला आधिकारिक निकायबाट विधिसम्मत अनुसन्धान अगाडि बढाउने हो। अनुसन्धानबाट यदि गल्ती गरेको ठहरिए कानुनबमोजिम कारबाही गर्ने हो।”
सभापति थापाले सरकारले विधिको शासन, प्रशासनिक मर्यादा र स्थापित कानुनी संयन्त्रहरूको खिल्ली उडाउँदै स्वेच्छाचारी र गैरकानुनी बाटो रोजेको आरोपसमेत लगाए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment