सञ्चारगृहमा प्रहरी हस्तक्षेप र पत्रकार धरपकडप्रति पूर्वअध्यक्षहरूको चिन्ता: ‘लोकतान्त्रिक व्यवस्थामाथिकै गम्भीर खतरा’

प्रमिला कार्की,नेपाल न्यूज बैंक
१५ कार्तिक २०८३ १९:१०
4
Shares

काठमाडौं।  पछिल्लो समय प्रहरी प्रशासनबाट सञ्चारगृह र पत्रकारहरूमाथि भइरहेको धरपकड तथा हस्तक्षेपप्रति नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।

समाचार कक्षमै प्रहरी प्रवेश गर्ने, समाचारको स्रोत खोज्न दबाब दिने र समाचार लेखेकै आधारमा बिना पुर्जी पत्रकार पक्राउ गर्ने कार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रको भविष्यमाथि नै गम्भीर प्रश्न उठाएको उनीहरूको ठहर छ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा महासंघका पूर्वअध्यक्षहरू हरिहर विरही, तारानाथ दाहाल र डा. महेन्द्र विष्टले पत्रकारमाथिको हस्तक्षेपलाई सामान्य रूपमा लिन नहुने बताए। उनीहरूले प्रेस स्वतन्त्रता पत्रकारको पेसागत अधिकार मात्र नभई नागरिकको सूचनाको हक र लोकतान्त्रिक व्यवस्थाको मूल आधार भएको स्पष्ट पारेका छन्।

‘लोकतन्त्रमा कल्पना गर्न नसकिने घटना’

पूर्वअध्यक्ष हरिहर विरहीले समाचार कक्षमा प्रहरी पस्नु लोकतन्त्रमा कल्पना पनि गर्न नसकिने घटना भएको टिप्पणी गरे। “प्रेस स्वतन्त्रता नागरिकको अधिकार र लोकतन्त्रको मेरुदण्ड हो,” उनले भने, “राज्य संयन्त्रले यसमा हस्तक्षेप गर्नुअघि आफ्नो संवैधानिक दायित्व बिर्सनु हुँदैन।”

‘राज्यमा अराजकताको संकेत’

अर्का पूर्वअध्यक्ष तारानाथ दाहालले घटना गलत भएको स्वीकार गर्दागर्दै पनि सरकारले दोषीमाथि कारबाही नगर्नु र जिम्मेवारी नलिनुले राज्य अराजकतातिर धकेलिएको सङ्केत गर्ने बताए। उनले यस्ता कदमले पत्रकारहरूमा मनोवैज्ञानिक त्रास पैदा गरी स्वतन्त्र आवाजलाई दबाउने प्रयास भएको उल्लेख गरे।

‘मिडियाको स्वतन्त्र अभ्यासमा सीधा प्रहार’

त्यस्तै, पूर्वअध्यक्ष डा. महेन्द्र विष्टले बिना पक्राउ पुर्जी पत्रकार नियन्त्रणमा लिनु र स्रोत खोतल्न दबाब दिनुले सञ्चारमाध्यमको स्वतन्त्र अभ्यासलाई कुण्ठित गर्ने बताए। समाचारप्रति असहमति भए कानुनी प्रक्रिया अपनाउनुपर्नेमा प्रहरीको हस्तक्षेपकारी भूमिका चिन्ताजनक रहेको उनको भनाइ छ।

शुक्रबार प्रहरीले नयाँ पत्रिका, नेपालप्रेस, डिएनखबर, मोटिभेट न्युज र दियोपोष्टका समाचार कक्षमै पुगी पत्रकारहरू विश्वमणि सुवेदी, धीरज बस्नेत, शोभराज बराल र नवराज मैनालीलाई नियन्त्रणमा लिने प्रयास तथा पक्राउ गरेको थियो। प्रहरीको उक्त कदमको अहिले चौतर्फी आलोचना भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *