‘आत्मानन्द गोल्डकप’ मङ्सिरमा
इलाम। १९औँ संस्करणको ‘आत्मानन्द गोल्डकप’ अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता आगामी मङ्सिर ९ गतेदेखि सञ्चालन हुने भएको छ।
किरात धर्मगुरु आत्मानन्द लिङदेनको ७३औँ जन्मोत्सवको अवसरमा हुने उक्त गोल्डकपको तयारी तीब्र पारिएको आज माङसेबुङमा पत्रकार सम्मेलन गरी आयोजक आत्मा–पवित्र खेलकुद समिति अध्यक्ष मनप्रसाद आङबुहाङले जानकारी दिए।
पश्चिमी इलामको माङसेबुङ गाउँपालिका–५ स्थित प्रस्तावित आत्मानन्द रङ्गशालामा हुने सो प्रतियोगितामा नेपाल र भारतका आठ टोलीको सहभागिता रहने अध्यक्ष आङबुहाङले बताए।
गोल्डकपमा नेपालबाट आयोजक आत्मा–पवित्र खेलकुद समितिसहित डिफेन्डिङ च्याम्पियन सिरिजङ्गा क्लब मोरङ, सैनिक युथ क्लब झापा, लेटाङ फुटबल क्लब मोरङ, तिजोक युवा क्लब पाँचथर, मधेसी युवा क्लब सुनसरी र माडसेबुङ गाउँपालिका सहभागी हुनेछन्। त्यसैगरी पाहुना टोलीको रुपमा भारतबाट युके एफसी कर्साङ सहभागी हुने निश्चित भएको अध्यक्ष आङ्बुहाङले बताए।
गोल्डकपको फाइनल खेल मङ्सिर १७ गते हुनेछ। विजेताले नगद रु तीन लाख ११ हजार १७३ र उपविजेताले नगद रु दुई लाख ११ हजार १७३ पाउनेछन्। त्यस्तै विधागततर्फ सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलकिपरलाई जनही रु आठ हजार १७३ प्रदान गरिने अध्यक्ष आङबुहाङले बताए।
प्रतियोगितामा दर्शकका लागि बाँसको अस्थायी प्यारापिट निर्माण गरिनेछ। स्थायी प्यारापिट नभएका कारण दर्शकलाई बाँसको अस्थायी प्यारापिट निर्माण गर्न लागिएको अध्यक्ष आङ्बुहाङले बताए। “हामीसँग सुविधासम्पन्न खेल मैदान छैन। तर पनि बर्सेनि अन्तरराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता आयोजना गर्दै आएका छौँ”, अध्यक्ष आङ्बुहाङले भने। धर्मगुरु लिङदेनको जन्मोत्सवको अवसरमा फुटबलका साथै म्याराथन, छेलो हान्ने (पक्लुङ), लठ्ठा तान्ने, धनुषकाँड हान्ने, हाँडी फुटाउने, तेक्वान्दोलगायतका खेल समेत सञ्चालन हुने आयोजकले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment