साउदी अरबको आभा सहरमा आपतकालीन अलर्ट जारी: तस्बिर र भिडियो खिच्न तथा सेयर गर्न कडा प्रतिबन्ध
काठमाडौं । साउदी अरबको आभा सहरमा सम्भावित सुरक्षा खतरालाई मध्यनजर गर्दै राष्ट्रिय आपतकालीन चेतावनी जारी गरिएको छ। बीबीसी उर्दूका अनुसार, स्थानीय प्रशासनले मानिसहरूलाई शान्त रहन र सुरक्षासम्बन्धी आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।
सउदी नागरिक सुरक्षा विभागद्वारा जारी निर्देशिकामा मानिसहरूलाई तुरुन्तै कुनै सुरक्षित स्थान वा घरभित्र झ्याल नभएका कोठाहरूमा बस्न निर्देशन दिइएको छ। खतरा नटलेसम्म मानिसहरूलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र खुला ठाउँ, झ्याल, बालकनी तथा छतबाट टाढा रहन सल्लाह दिइएको छ।
नागरिक सुरक्षा विभागका अनुसार, यदि कोही व्यक्ति घरबाहिर छ भने उसले तुरुन्तै नजिकैको कुनै बलियो भवन वा गारोको पछाडि ओत लाग्नुपर्नेछ। यसका साथै, गाडी चलाइरहेको समयमा यो अलर्ट प्राप्त भएमा वाहनलाई तुरुन्तै कुनै सुरक्षित ठाउँमा रोक्न र पुल वा अग्ला भवनहरूबाट टाढा रहन निर्देशन दिइएको छ।
अधिकारीहरूले मानिसहरूलाई जोखिमयुक्त स्थानहरूमा नजान र भिडभाड नगर्न अपिल गरेका छन्।
प्रशासनले मिसाइल, ड्रोन वा तिनका सम्भावित असर (नाक्सान) सँग जोडिएका कुनै पनि जानकारी, फोटो वा भिडियो खिच्न र सोसल मिडियामा सेयर गर्न कडा प्रतिबन्ध लगाएको छ। यस्तो गरेमा कानुनी कारबाही हुने कडा चेतावनी दिइएको छ।
सउदी अधिकारीहरूले नागरिकहरूलाई केवल आधिकारिक निकायहरूबाट आउने सूचनामा मात्र विश्वास गर्न र कुनै पनि आपत्कालीन स्थितिमा इमर्जेन्सी नम्बरहरूमा सम्पर्क गर्न आग्रह गरेका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment