युक्रेनमा राहत सामग्री वितरण केन्द्र लक्षित हमलामा २६ जनाको मृत्यु
काठमाडौं । युक्रेनको दक्षिणी जापोरिजिया क्षेत्रको कोमिसुवाखा गाउँमा भएको रुसी हवाई हमलामा कम्तीमा २६ जनाको मृत्यु भएको छ।
यस भीषण आक्रमणमा परी अन्य पाँच जना घाइते भएका छन् भने २४ भन्दा बढी मानिसहरू अझै बेपत्ता रहेको बताइएको छ। आक्रमणकारीहरूले सर्वसाधारणलाई राहत सामग्री वितरण भइरहेको केन्द्र र नजिकैको आश्रयस्थललाई मुख्य निशाना बनाएका थिए।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यस हमलालाई ‘अत्यन्तै भयावह र क्रूर’ भन्दै कडा शब्दमा भर्त्सना गरेका छन्। क्षेत्रीय प्रमुख माइखाइलो सेमिकिनका अनुसार रुसी सेनाले गाउँमा कम्तीमा नौ वटा हवाई बम प्रहार गरेका थिए, जसमध्ये प्रत्येकको तौल करिब ३,००० किलोग्राम रहेको अनुमान गरिएको छ।
राष्ट्रपति जेलेन्स्कीले दिएको जानकारी अनुसार रुसी सेनाले सुरुमा मानवीय सहायता सम्बन्धी कामका लागि प्रयोग भइरहेको एउटा स्थानीय विद्यालय भवनमा बमबारी गरेको थियो। त्यसको केही समयपछि मानिसहरू ज्यान बचाउनका लागि शरण लिइरहेको अर्को आश्रयस्थललाई लक्षित गरी दोस्रोपटक घातक आक्रमण गरिएको थियो।
जेलेन्स्कीले सोमबार भएको उक्त आक्रमणपछिको एउटा भिडियोसमेत सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्। भिडियोमा शक्तिशाली विस्फोटका कारण बनेको ठूलो खाडल र भग्नावशेषभित्र जीवित मानिसहरूको खोजी गरिरहेका उद्धारकर्मीहरू प्रष्ट देखिन्छन्।
यसैबीच, रुसी सेना वा रक्षा मन्त्रालयको तर्फबाट यस आक्रमणबारे हालसम्म कुनै पनि आधिकारिक वा सार्वजनिक प्रतिक्रिया आएको छैन।
No ads found for this position



डिसी नेपाल
Facebook Comment