पार्टी एकीकरण र संगठनात्मक समायोजनपछि चुनावमा केन्द्रित हुन माधव नेपालको निर्देशन
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पार्टी एकीकरण तथा संगठनात्मक समायोजनको कामलाई पूर्णता दिएर तत्काल निर्वाचनको तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।
नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीचको एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेश, जिल्ला र पालिका तहसम्मका सबै संरचनाहरूमा संगठनात्मक समायोजनको काम तुरुन्त सक्नुपर्ने बताएका हुन्।
सहसंयोजक नेपालले पार्टीका नेता तथा कार्यकर्तालाई जनताको घरदैलोमा पुग्न, पार्टीको नीति तथा विचार प्रचारप्रसार गर्न, नयाँ सदस्यता विस्तार गर्न र पुराना सदस्यहरूको सदस्यता नवीकरण अभियानलाई तीव्र बनाउन आग्रह गरेका छन्।
केन्द्रीय संयोजन समितिका सदस्यदेखि लिएर केन्द्रीय, प्रदेश र जिल्ला कमिटीका सबै तहका पदाधिकारी तथा सदस्यहरूलाई पार्टीका निर्णय र निर्देशनहरू प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न उनले विशेष जोड दिएका छन्।
पार्टी संगठनलाई देशव्यापी रूपमा बलियो र विस्तार गर्न सबैले जिम्मेवारीबोधका साथ खट्नुपर्ने उनको भनाइ छ। प्रारम्भिक चरणमा पार्टी सानो देखिए पनि जनताको व्यापक सहभागिता र कार्यकर्ताको उच्च सक्रियताले नै संगठनलाई अजेय शक्तिका रूपमा स्थापित गर्न सक्ने विश्वास उनले व्यक्त गरे।
No ads found for this position



डिसी नेपाल
Facebook Comment