प्लास्टिकजन्य फोहोर नजलाउन काठमाडौं महानगरको आग्रह, वायु प्रदूषणको जोखिम बढ्दै

डिसी नेपाल
१९ कार्तिक २०८३ ८:५०

काठमाडौं । काठमाडौं महानगरपालिकाले जाडो मौसम सुरु भएसँगै वायु प्रदूषणको जोखिम बढ्ने भन्दै प्लास्टिकजन्य फोहोर नजलाउन नगरवासीलाई आग्रह गरेको छ।

महानगरपालिकाको वातावरण विभागका अनुसार सवारीसाधनबाट निस्कने धुवाँ, निर्माणस्थलबाट उत्पन्न हुने धुलो, उद्योग तथा कलकारखानाको धुवाँ र खुला रूपमा प्लास्टिकजन्य फोहोर जलाउँदा निस्कने विषाक्त धुवाँ वायु प्रदूषणका प्रमुख कारण हुन्।

विभाग प्रमुख सरिता राईले वायु प्रदूषणले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, दम तथा खोकीका बिरामी र दीर्घरोगीलाई बढी असर गर्ने भएकाले प्रदूषण बढाउने गतिविधि नगर्न आग्रह गरेकी छन्।

महानगरले सवारीसाधनलाई प्रदूषण मापदण्डभित्र राखेर सञ्चालन गर्न, नियमित मर्मतसम्भार गर्न तथा निर्माण सामग्री सडक र फुटपाथमा नराख्न पनि अनुरोध गरेको छ।

त्यस्तै, उद्योग, कलकारखाना तथा अस्पतालले महानगरको प्रदूषण नियन्त्रण मापदण्ड, २०८१ अनुसार वायु गुणस्तर र धुवाँसम्बन्धी मापदण्ड पालना गर्नुपर्ने जनाएको छ। उद्योगहरूमा वायु प्रदूषण नियन्त्रण गर्ने उपकरण प्रयोग गर्न पनि महानगरले आग्रह गरेको छ।

महानगरले वायु प्रदूषण नियन्त्रणका लागि सबै नागरिक तथा सम्बन्धित निकायलाई जिम्मेवार बन्न आग्रह गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *