चलचित्र ‘पाँच पाण्डव’ पूर्वनिर्धारित मितिमै प्रदर्शन हुने, निर्माण टिमद्वारा भ्रममा नपर्न आग्रह

डिसी नेपाल
१९ कार्तिक २०८३ १४:१२

काठमाडौं। बहुप्रतिक्षित नेपाली चलचित्र ‘पाँच पाण्डव’ पूर्वनिर्धारित मितिमै देशभरका हलहरूमा प्रदर्शन हुने भएको छ। चलचित्रको प्रदर्शन रोकिएको वा स्थगन भएको भन्ने विभिन्न भ्रमपूर्ण खबरहरू बाहिरिएपछि निर्माण टिमले आधिकारिक विज्ञप्ति जारी गर्दै तोकिएकै मितिमा फिल्म रिलिज हुने स्पष्ट पारेको हो।

चलचित्र निर्माण टिमले विज्ञप्तिमा भनेको छ, “हाम्रो चलचित्र ‘पाँच पाण्डव’ पूर्वनिर्धारित मिति अर्थात् कात्तिक २० गते (भोलि) देखि नै देशभरका सम्पूर्ण हलहरूमा यथावत् प्रदर्शन हुने जानकारी गराउन चाहन्छौँ।”

साथै, निर्माण टिमले आफ्ना चलचित्रमार्फत कुनै पनि धर्म, धार्मिक आस्था वा धार्मिक स्थलप्रति चोट पुर्‍याउने, अपमान गर्ने वा अवहेलना गर्ने कुनै पनि उद्देश्य नरहेको स्पष्ट पार्दै सबै धर्म, संस्कृति र आस्थाप्रति उच्च सम्मान रहेको जनाएको छ। चलचित्रप्रति दर्शकहरूले देखाएको माया, विश्वास र सद्भावप्रति टिमले आभार व्यक्त गरेको छ।

बुधबारबाट नै चलचित्रको एड्भान्स बुकिङ खुलिसकेको छ। वसन्त निरौलाको निर्देशनमा तयार भएको यस चलचित्रमा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला र इभा गिरीलगायतका चर्चित कलाकारहरूको प्रमुख अभिनय रहेको छ।

यसैगरी, काली रानी फिल्मस्को ब्यानरमा निर्माण भएको यस चलचित्रमा दीपाश्री निरौला, सरिता गिरी, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने र रितेश पौडेल (रितेशजंग खत्री) लगायतको पनि दमदार भूमिका रहेको छ। चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् भने निर्माता काली रानी श्रेष्ठ छिन्।

सुशील पौडेलको कथा, पटकथा तथा संवाद रहेको ‘पाँच पाण्डव’ एक उत्कृष्ट सोसल ड्रामा हो। लेखक पौडेलका अनुसार चलचित्रले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्बलाई प्रतीकात्मक रूपमा प्रयोग गर्दै समकालीन नेपाली समाजको यथार्थ कथा प्रस्तुत गरेको छ।

श्याम तामाङको छायांकन रहेको यस चलचित्रमा सुप्रिम पराजुलीको सम्पादन तथा कलर, सम्राट बस्नेतको द्वन्द्व निर्देशन, गम्भीर विष्ट र विक्रम स्वाँरको कोरियोग्राफी तथा अर्जुन पोखरेलको संगीत रहेको छ। दर्शकले यस चलचित्रमा अत्याधुनिक डल्बी एटमस साउन्डको विशेष अनुभव लिन सक्नेछन्।

तिहारको पूर्वसन्ध्या पारेर कार्तिक २० गते (नोभेम्बर ६) देखि प्रदर्शनमा आउने यस चलचित्रको डिजिटल अधिकार ओएसआर डिजिटलसँग रहेको छ भने देशव्यापी वितरणको जिम्मा आरआर फिल्मसका रोहित कट्टेल र रत्न श्रेष्ठले लिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *