एकै सातामा दोस्रो पटक युरोपेली एयरलाइन्स र विमानस्थलहरूलाई लक्षित गरी बमको धम्की

डिसी नेपाल
२० कार्तिक २०८३ ७:२१

काठमाडाैं। युरोपभरका कम्तीमा २१ वटा विमान र धेरै विमानस्थलहरूलाई बमको धम्की दिइएको छ। एकै साताभित्र यस्तो घटना दोहोरिएपछि बेलायतले यसलाई “दुर्भावनापूर्ण झूटो धम्की” (भनेको छ।

यस घटनाबाट अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, चेक गणतन्त्र, फ्रान्स, इटाली, पोल्याण्ड र रोमानियातर्फ उडिरहेका उडानहरू प्रभावित भएका थिए। डब्लिनबाट रोमतर्फ गइरहेको एयर लिङ्गसको एउटा विमानलाई फ्रान्सको सैन्य हवाई अड्डातर्फ मोडिएको थियो भने इटालियन फाइटर जेटहरूले फिनएयरको हेलसिन्की-रोम उडानलाई सुरक्षा दिँदै अवतरण गराएका थिए।

इजीजेटका अनुसार न्युकासल र ग्लास्गोबाट उडेका आफ्ना विमानहरूलाई पूर्वसावधानीका रूपमा प्रागमा प्रहरीले घेरेर जाँच गरेका थिए। लन्डन हिथ्रो र बर्मिंघम विमानस्थलले पनि यस्ता धम्कीहरू प्राप्त गरेका थिए, जसलाई पछि अविश्वसनीय ठहऱ्याइएको थियो।

खोजतलासका क्रममा कुनै पनि विस्फोटक पदार्थ फेला परेको छैन। एक अल्पज्ञात समूहले केही घटनाको जिम्मेवारी लिएको भए पनि यी घटनाहरू आपसमा जोडिएका छन् वा छैनन् भन्ने स्पष्ट भइसकेको छैन।

इटालीको राजधानी रोमका विमानस्थल अधिकारीहरूले बिहीबार आएका दुई उडानविरुद्धको झूटो धम्की इमेलमार्फत प्राप्त भएको बताएका छन्। उक्त चेतावनीमा आफूलाई “फाइटर्स अफ द मेल स्टेट” भन्ने समूह वा व्यक्तिले हस्ताक्षर गर्दै उनीहरूले “महिलावादी शासन” लाई लक्षित गरेको र “इतिहासमा आफ्नो छाप छोड्न” चाहेको दाबी गरेका थिए। उनीहरूले विष्फोट गराएर “आकाशलाई रातो बनाइदिने” धम्कीसमेत दिएका थिए।

यी विवरणहरू पहिले इटालियन सञ्चारमाध्यमले सार्वजनिक गरेका थिए र पछि रोमका दुवै विमानस्थल व्यवस्थापन गर्ने एरोपोर्टी डि रोमाले बीबीसीसँग यसको पुष्टि गरेको थियो।

“फाइटर्स अफ द मेल स्टेट” ले सम्भवतः रुसी समूह “मुझस्कोइ लेजियन” (मेल लेजियन) लाई सङ्केत गर्छ। यो अति-दक्षिणपन्थी समूह यति उग्र विचारको थियो कि सन् २०२१ मा मस्को अदालतले यसलाई प्रतिबन्धित गरेको थियो। तैपनि, यसले अर्को वर्ष युक्रेनमा रुसको पूर्णस्तरीय आक्रमणको समर्थन गर्दै हजारौँ अनलाइन समर्थकहरू कायम राखेको थियो। तर, त्यो इमेल वास्तविक नै भए तापनि प्रहरी र विमानस्थल अधिकारीहरूलाई यी झूटो धम्कीहरू कसले र किन उत्पन्न गरिरहेको छ भन्ने पत्ता लगाउन आवश्यक सुराग दिने सम्भावना भने कमै छ।

बेलायती यातायात मन्त्री हाइडी अलेक्ज्याण्डरले बिहीबारका घटनाहरूलाई “दुर्भावनापूर्ण झूटो धम्की” को संज्ञा दिएकी छन्। उनले सरकारले “यी धम्कीहरूलाई गम्भीरताका साथ लिएको” बताउँदै “यस्ता झूटो र दुर्भावनापूर्ण धम्कीहरूसँग जुध्न स्थापित प्रक्रियाहरू रहेको” मा जोड दिइन्।

बेलायत सरकारका एक प्रवक्ताले दिनको सुरुमा प्राप्त धम्कीहरू “समाधान भइसकेको” बताएका थिए, तर थप विवरण भने दिएनन्। हिथ्रो विमानस्थलले पछि एक वक्तव्य जारी गर्दै दिनको सुरुमा धम्की प्राप्त भए पनि त्यसलाई “अविश्वसनीय ठहऱ्याइएको” र “यात्री, कर्मचारी वा विमानलाई कुनै खतरा नरहेको” जनाएको थियो।

यसैबीच, बर्मिंघम विमानस्थलका प्रवक्ताले बीबीसीलाई धम्की प्राप्त भएलगत्तै आपतकालीन सेवा र साझेदारहरूसँग मिलेर तुरुन्तै सुरक्षा प्रक्रियाहरू अघि बढाइएको जानकारी दिएका थिए।

बिहीबार धम्कीको निशानामा परेका उडानहरूमा एयर लिङ्गसको डब्लिन-रोम उडानलाई फ्रान्सको नोर्मान्डीतर्फ मोडिएको थियो, जुन सुरक्षित रूपमा अवतरण भयो। कम्पनीले यात्रुहरूलाई यथाशीघ्र गन्तव्यमा पुर्याउने काम भइरहेको जनाएको छ। फिनएयरका दुई उडानहरू सामान्य रूपमा अवतरण भएका थिए, जसमध्ये एउटालाई इटालीको वायुसेनाका फाइटर जेटहरूले स्कोर्ट गरेर रोम अवतरण गराएका थिए भने अर्को अस्ट्रियाको भियनामा अवतरण भएको थियो।

विज एयरका मिलानबाट उडेका दुई उडानहरू प्रभावित भएका थिए; वार्सा गइरहेको विमानलाई भियनातर्फ मोडिएको थियो भने अर्को बुखारेस्टमा सुरक्षित अवतरण गरेपछि टोलीले जाँच गरेका थिए। पोलिस एयरलाइन्स लोटको वार्सा-ब्रसेल्स उडान योजनाअनुसार नै अवतरण भयो र कुनै शंकास्पद वस्तु फेला परेन। लोटकै अर्को वार्सा-प्यारिस उडानलाई भने उडान भर्नुअघि नै रोकेर सुरक्षा जाँच गरिएको थियो।

बुल्गेरियन सञ्चारमाध्यमका अनुसार रायनएयरका तीन उडानहरूलाई बुल्गेरियाली वायुसेनाका फाइटर जेटहरूले स्कोर्ट गरेर अवतरण गराएका थिए। चेक प्रहरीका अनुसार प्रागमा अवतरण गरेका चार उडानमा कुनै विस्फोटक पदार्थ भेटिएन। स्पेनको विमानस्थल प्राधिकरण र एयर सर्बियाका उडानहरूमा आएका धम्कीहरू पनि जाँचपछि निराधार पुष्टि भएका थिए।

डब्लिनबाट रोमतर्फ गइरहेकी २६ वर्षीया यात्रु एमिली नोबलले उडान सुरु भएको एक घण्टापछि “प्राविधिक समस्या” रहेको भन्दै फ्रान्सको इभ्रेक्स-फोभिल सैन्य हवाई अड्डातर्फ विमान मोडिएको बताइन्। अवतरणका क्रममा फाइटर जेटहरूको आवाज सुनिएको र प्रहरी तथा सेनाले कुकुरसहित साढे दुई घण्टासम्म जाँच गरेपछि मात्र बमको धम्कीबारे थाहा पाएको उनले बीबीसीलाई जानकारी दिइन्।

कभेन्ट्री विश्वविद्यालयका उड्डयन सुरक्षा प्राध्यापक फिलिप बाउमले उड्डयन क्षेत्रले दैनिक यस्ता धम्कीहरूको सामना गर्ने गरे पनि यस साताका घटनाहरूले आश्चर्यचकित बनाएको बताएका छन्। धम्की विश्वसनीय भएमा मात्र विमान डाइभर्ट गरिने भएकाले यस्ता निरन्तरका झूटो धम्कीले सुरक्षा टोलीहरूमा असजगता ल्याउन सक्ने वा यो ठूलो षड्यन्त्रको रूपमा अन्य ध्यान मोड्ने खेल हुन सक्ने चिन्ता विशेषज्ञहरूले व्यक्त गरेका छन्।

किङ्स्टन विश्वविद्यालयका उड्डयन विज्ञ मार्को चानले यी धम्कीहरू हवाई यात्रामा विघ्न पुऱ्याउने सस्ता हत्कण्डा हुन सक्ने बताएका छन्। दुई दिनअघि पनि बेलायतका दुईसहित सातवटा युरोपेली उडानहरूमा बमको धम्कीपछि तलासी लिइएको थियो, जहाँ कुनै पनि विस्फोटक पदार्थ फेला परेको थिएन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *