जापानमा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ६४ पुग्यो

डिसी नेपाल
२८ असोज २०७६ १२:२६

टोकियो, जापान । जापानमा आएको ‘हागिबिस’ नामक शक्तिशाली आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ६४ पुगेको छ। जापानको राष्ट्रिय प्रसारण संस्था एनएचकेले मङ्गलबार दिएको जानकारीअनुसार मृत्यु हुनेको सङ्ख्या ६४ पुगेको र अझै बढ्न सक्ने आशङ्का गरिएको छ।

खोजी तथा उद्धार जारी रहेको र कैयौँ व्यक्ति बेपत्ता तथा घाइते रहेकाले मृत्यु हुनेको सङ्ख्या अझ बढ्नसक्ने अनुमान गरिएको जनाएका छन्। आँधीबाट विद्युतीय लाइनमा आएको अवरोधका कारण धेरै क्षेत्रलाई असर गरिरहेको छ, जापानी उद्योग मन्त्री ईशु सुगवाराले ३४ हजार व्यक्ति बिजुलीविना बसिरेहका पुष्टि गरेका छन् ।

सुगवाराका अनुसार आँधीले कडा प्रभावित चिवा प्रान्तमा १८ हजार घर बिजुलीविहीन छन, नागानो प्रान्तका १२,००० घर बिजुलीविहीन रहेका छन्। सबै घरहरु सुरक्षित रूपमा बिजुली फिर्ता हुनको लागि एक हप्तासम्म लाग्न सक्ने बताइएको छ। तेह्र वटा प्रान्तको १ लाख ३३ हजार घरहरुका पानी आपूर्ति बन्द भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

विनासकारी आँधीपछि अझै पनि बेपत्ता रहेका व्यक्तिको खोजी र उद्धारका लागि सेना पनि परिचालन गरिएको बताइएको छ। आँधीका कारण विभिन्न स्थानमा डरलाग्दो पहिरो गएको र पानीको सतह बढेका कारण नदी किनाराका घर डुबानमा परेका छन् । आँधीका कारण जापानमा भइरहेको लोकप्रिय रग्बीको विश्वकप प्रतियोगिता नै ओझेलमा परेको छ।

आँधीका कारण तीनवटा खेल रद्द भइसकेका छन् तर जापान र स्कटल्याण्डबीचको खेल भने तोकिएको समयमै हुने आयोजकले बताएका छन्। हागिबिस आँधी जापानको होन्सु द्वीपमा शनिबार साँझ ७ बजे प्रवेश गरेको थियो । प्रतिघण्टा २१६ किलोमिटरभन्दा बढीको वेगमा रहेको यो आँधीलाई जापानमा पछिल्लो समय आएको सबैभन्दा शक्तिशाली आँधी मानिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *