शिक्षण अस्पतालमा तेस्रो पटक कलेजोको सफल प्रत्यारोपण

डिसी नेपाल
२ कार्तिक २०७६ १३:४६

काठमाडौं। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिएको कलेजो प्रत्यारोपण कार्यले सफलता प्राप्त गरेको छ। शुक्रबार रुपन्देहीका ५२ वर्षीय पुरुष बिरामीलाई उहाँका २७ वर्षीय छोराले प्रदान गरेको कलेजोले प्रत्यारोपण सफलता प्राप्त गरेको हो।

प्रत्यारोपित बिरामीको स्वास्थ्य अवस्था ठीक रहेको अस्पतालले जनाएको छ। अस्पतालका प्रत्यारोपण चिकित्सक प्राडा रमेशसिंह भण्डारीको टोलीले करीब आठ घण्टा लगाएर सो प्रत्यारोपण गरेको थियो। प्राडा भण्डारीका अनुसार अस्पतालमा यो प्रत्यारोपण तेस्रो पटक सफलतापूर्वक सम्पन्न भएको हो।

गत जेठ १८ गते पहिलो र साउन ३ गते दोस्रो कलेजो प्रत्यारोपण भएको थियो। पहिलो प्रत्यारोपणमा ३३ वर्षीया छोरीले ५८ वर्षीय आफ्ना पितालाई कलेजो दिएकी थिइन्। “हामी अस्पतालमा कलेजो प्रत्यारोपणलाई नियमित बनाउने तयारीमा छौँ, महिनामा कम्तिमा एउटा कलेजो प्रत्यारोपणको लक्ष्य लिएका छौँ”, उनले भने।

विदेशको तुलनामा नेपालमा कलेजो प्रत्यारोपण कार्य सस्तो छ। प्राडा भण्डारीका अनुसार करीब २५ लाखमा कलेजो प्रत्यारोपण गर्न सकिने छ। आफ्ना परिवारभित्रका सदस्यले मात्र कलेजोदान गर्न सक्ने कानुनी प्रावधान छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *