उपपत्नीको शाही उपाधि खोसेको केही दिनपछि थाई राजाले बर्खास्त गरे छ जना कर्मचारी

डिसी नेपाल
७ कार्तिक २०७६ ११:५२

बीबीसी । थाईल्यान्डका राजा महा वाचिरालङ्कनले अत्यन्त ठूलो दुष्ट कर्म गरेको भन्दै आफ्ना छ कर्मचारी सेवाबाट हटाएका छन्।

आफूलाई विश्वासघात र दुर्व्यवहार गरेको भन्दै आफ्नी उपपत्नीका सबै उपाधि खोसिदिएको केही दिनपछि उनले आफ्ना कर्मचारीलाई कारबाही गरेका हुन्।

राजाले पदमुक्त गरिदिएका कर्मचारीमा एक महिला, एक वरिष्ठ प्रहरी अधिकारी तथा दुई शाही सुरक्षासेवक पनि छन्। उनीहरूलाई आफ्नो र अन्य व्यक्तिको लाभका लागि आफ्नो पदको दुरुपयोग गरेको आरोप लगाइएको छ।

सोमवार राजकीय उपपत्नी सिनीनात वङ्वाचिराफाकका सबै पद तथा उपाधिहरू खोसिएको थियो। राजकीय सेवा विभागका एक प्रहरी लेफ्टेनन्ट जेनरल पनि कारबाहीमा परेको जनाइएको छ।

राजपत्रमार्फत् सार्वजनिक गरिएको सूचनामा भनिएको छ, ‘उनीहरूले आफ्नो र अन्य व्यक्तिको लाभका लागि पदको दुरुपयोग गरेर अनुशासनको गम्भीर उल्लङ्घन गरेका छन्।’

‘उनीहरूले राजकीय नियमको पालना गरेनन् जसका कारण राजकीय मामिलामा उनीहरूले ठूलो क्षति पुर्‍याएका छन्।’ राजाले केही महिनाअघि मात्रै आफ्नी भित्रिनीलाई उपपत्नीको राजकीय उपाधि दिएका थिए। उनले सेनामा पनि ठूलो पद पाएकी थिइन्।

तर उनका सबै पद र उपाधि खोसिदिएर राजाले धेरैलाई आश्चर्यचकित पारिदिएको बेला राजदरबारको सेवामा रहेका कर्मचारीहरूमाथि कारबाही भएको हो।

चौतीस वर्षीया सिनीनातले महारानी सरहको मान्यता पाउने प्रयत्न गरेको भन्दै उनलाई राजाले दण्ड दिएका हुन्। राजा वाचिरालङ्कनले आफ्ना पिताको भन्दा पृथक् तरिकाले शक्तिको प्रयोग गरिरहेका छन्।

थाईल्यान्डको राजद्रोहसम्बन्धी कानुनले राजाको आलोचना गर्न प्रतिबन्ध लगाएको छ। यदि कसैले त्यस्तो कसुर गरेमा कठोर कैद सजायको व्यवस्था गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *