अफ्रिकामा रुस सक्रिय हुनुको अर्थ

डिसी नेपाल
७ कार्तिक २०७६ २१:३६

मस्को (बीबीसी) । अफ्रिकामा आफ्नो भूमिका बढेको सङ्केत दिन रुसले यो साता दर्जनौँ अफ्रिकी नेताहरू सहभागी हुने एउटा महत्त्वपूर्ण सम्मेलनको आयोजना गर्दैछ।

सोभियत सङ्घ अस्तित्वमै हुँदा अफ्रिका महादेशमा उसको महत्त्वपूर्ण उपस्थिति थियो। तर शीतयुद्धपछि उसको राजनीतिक र आर्थिक प्रभाव न्यून हुँदै गयो।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अफ्रिकी देशहरूसँगको सम्बन्ध बलियो बनाउनु रुसी विदेशनीतिको प्राथमिकता भएको बताएका छन्।

कुनै पनि विषयसम्बन्धी तथ्य र दाबी परीक्षण गर्ने बीबीसी रीयालिटी चेकले अफ्रिकामा रुसको भूमिका कति महत्त्वपूर्ण छ भनेर खोजी गरेको छ।

सोभियत सङ्घ हुँदादेखि नै सम्बन्ध स्थापित गरेको रुसको अफ्रिकामा भव्य उपस्थिति छ।

सम्मेलनअघि रुसको सरकारी सञ्चारमाध्यम टीएएसएससँगको अन्तर्वार्तामा राष्ट्रपति पुटिनले ‘रुसी–अफ्रिकी सम्बन्ध सुदृढ’ भएको भन्दै निम्नलिखित कुरा प्रस्ताव गरेका छन् :

राजनीतिक र कूटनीतिक समर्थन
रक्षा र सुरक्षा सहयोग
आर्थिक सहायता
रोग नियन्त्रण सुझाव
मानवीय राहत सहायता
शैक्षिक र व्यावसायिक तालिम

रुसले अफ्रिकामा आफ्नो राजनीतिक सम्पर्क बलियो बनाइरहेको छ।

सन् २०१५ यता मात्रै १२ जना अफ्रिकी राष्ट्रप्रमुखले रुसको भ्रमण गरिसकेका छन्। तीमध्ये छ जनाले सन् २०१८ मा मात्रै रुस भ्रमण गरेका हुन्।

उसको महत्त्वाङ्क्षाका कारण रुसले आफूलाई उछिनेको हो कि भन्ने केही पश्चिमा शक्तिराष्ट्रलाई लागेको छ।

गत वर्ष अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले चीन र रुसलाई चुनौती दिने आंशिक उद्देश्यले अफ्रिकाका लागि नयाँ अमेरिकी रणनीति घोषणा गरेका थिए।

वाशिङ्टन पोस्टको हालैको एउटा सम्पादकीयमा रुसबारे लेखिएको छ। त्यसमा अफ्रिकी महादेशमा अमेरिकी प्रभाव घट्दै गइरहेको बेला सहमति र सुरक्षा सम्बन्ध आक्रामक रूपमा राख्न खोजिएको उल्लेख छ।

रुसको सैन्य सम्बन्ध
अफ्रिकाका लागि रुस एउटा महत्त्वपूर्ण साझेदार हो। रुसले उक्त क्षेत्रमा उल्लेख्य रूपमा अस्त्र आपूर्ति गर्छ।

तर विश्वव्यापी रूपमा अफ्रिका उसको ठूलो बजार होइन। उसका लागि एशिया ठूलो बजार हो।

स्टकहोम इन्टरनेशनल पीस रिसर्च इन्स्टिट्यूटका अनुसार सन् २०१४ देखि १८ सम्म इजिप्टबाहेक अफ्रिका महादेशमा अफ्रिकाको १७ प्रतिशत मुख्य अस्त्र निर्यात भएको थियो।

त्यसमध्ये अधिकांश अस्त्र अल्जीरीया गएको थियो। कुल निर्यातको तीन प्रतिशतभन्दा कम अन्यत्र गएको थियो।

त्यसैले परिमाणका हिसाबले सहारा राज्यमा अस्त्रशस्त्रको निर्यात तुलनात्मक रूपमा कम छ।

यद्यपि सन् २०१४ यता रक्षासम्बन्धी सम्बन्ध बढ्दो छ। करिब १९ वटा अफ्रिकी मुलुकसँग सैन्य सहायतासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।

सन् २०१७ देखि २०१८ सम्म रुसको एङ्गोला, नाइजिरिया, सुडान, माली, बुर्किना फासो र एक्वेटोरिएल गिनीसँग अस्त्र सम्झौता थियो।

त्यसमा लडाकु विमान, हेलिकोप्टर, ट्याङ्कभेदक क्षेप्यास्त्र र लडाकु विमानका इन्जिनहरू थिए।

भाडाका सैनिक
रुसको सैन्य र सुरक्षासम्बन्ध अस्त्र निर्यातबाहेक अरू क्षेत्रमा पनि विस्तार भएको छ।

कहिलेकाहीँ उसले भाडाका सैन्य समूहहरू पनि प्रयोग गर्छ।

उदाहरणका लागि रुस सेन्ट्रल अफ्रिकन रिपब्लिकमा सक्रिय छ। उसले त्यहाँ विद्रोह गरिरहेका विभिन्न समूहविरुद्ध संयुक्त राष्ट्रसङ्घले समर्थन गरेको सरकारलाई सघाइरहेको छ।

तर रुसका निजी सुरक्षा फौज पनि त्यहाँ सरकारलाई सुरक्षा दिन र महत्त्वपूर्ण सम्पत्ति रक्षा गर्न परिचालित छ।

रुसी सुरक्षा फौजको गतिविधि छिमेकी सुडान, लिबिया तथा अन्य देशमा पनि रहेको बताइएको छ। वेग्नर नामक एउटा नीति कम्पनीको त क्रेम्लिनसँग सम्बन्ध नै रहेको बताइन्छ।

रुसी अधिकारीहरू यस्ता समाचारमाथि प्रायः खेल्ने गर्छन्। वास्तवमा रुसको भूमिका के हो भनेर स्थापित गर्न र त्यस्ता गतिविधिमा आधिकारिक रूपमा कतिको सहयोग छ भन्ने पत्ता लगाउन कठिन हुन्छ।

तर अमेरिकामा रहेको कार्नेगी इन्डौमन्ट फोर इन्टरनेशनल पीसका वरिष्ठ विज्ञ पोल स्ट्रोन्स्की रुसका निजी सुरक्षाकर्मीहरूले मस्कोको हितमा काम गर्ने धारणा व्यक्त गर्छन्।

उनीहरूले धेरैजसो महत्त्वपूर्ण स्रोतको रक्षा गरेर आफैँ आर्थिक जोहो गर्छन् र रुसी राज्यलाई ‘कुनै खर्च नगराई र थोरै जोखिममा उसको सुरक्षा उपस्थिति र देशमा राजनीतिक प्रभाव विस्तार गर्न’ मौका दिन्छन्।

प्राकृतिक स्रोत
उद्योगका लागि महत्त्वपूर्ण मानिने म्याङ्गनीस, बोक्साईट र क्रोमीअमजस्ता खनिज पदार्थको रुसमा कमी भएकाले अफ्रिकासँग सम्बन्ध राख्नुको स्पष्ट आर्थिक कारण देखिन्छ।

ऊर्जाको क्षेत्रमा पनि अनुभव भएकोले रुसले प्राकृतिक स्रोतमा धनी राष्ट्रलाई सघाउने प्रस्ताव गर्न सक्छ।

सरकारको स्वामित्वका रुसी कम्पनीहरूले गिनीमा बोक्साईट निकालिरहेका छन् भने एङ्गोलामा हीरा निकाल्ने सम्झौता गरिरहेका छन्। तिनले मोजाम्बिकमा ग्यास उत्पादनका लागि कर छुटको सुविधा लिएका छन्।

रुसको ऊर्जासम्बन्धी एउटा ठूलो निजी कम्पनी लुकओइलका क्यामरून, घाना र नाइजिरियामा परियोजनाहरू छन्। उसले प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा पनि अधिकार खोजिरहेको बताइएको छ।

रुसले कैयौँ अफ्रिकी देशमा परमाणु ऊर्जा प्रविधिको पनि प्रस्ताव गरिरहेको छ।

जसअन्तर्गत अर्को वर्ष इजिप्टमा रुसले प्रदान गर्ने २५ अर्ब डलरको ऋणमा पहिलो परमाणु केन्द्रको निर्माण हुनेछ।

तर समग्र आर्थिक सहायताको कुरा गर्ने हो भने रुसले अझै पनि अफ्रिकामा भन्दा युरोप र एशियामा धेरै व्यापार गर्छ।

सन् २०१७ मा सहारा मरुमूभिको दक्षिणतिर रहेको क्षेत्रको सबैभन्दा महत्त्वपूर्ण व्यापारिक सम्बन्ध रुससँग नभई भारत, चीन, युरोप र अमेरिकासँग थियो।

अमेरिका, चीन, जापान र युरोपेली सङ्घले अफ्रिकालाई रुसले भन्दा धेरै बढी विकास सहायता प्रदान गर्छ र लगानी गर्छ।

त्यसैले रुसले आफ्नो प्रभाव बढाउन तथा अफ्रिकासँग सम्बन्ध गहिरो बनाउन काम गरिरहेको भए पनि उसका प्रतिद्वन्द्वीलाई भेट्न अझै लामो बाटो तय गर्नुपर्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *