भारतमा ३ जनाको हत्या गर्ने बोहोरालाई १४ दिन थुनामा राख्न आदेश

डिसी नेपाल
१४ कार्तिक २०७६ २१:१९

बैतडी। भारतको पिथौरागढमा तीन नेपाली मजदूरको लिङ्ग काटेर हत्या गरेको आरोपमा पक्राउ परेका नेपाली मजदूर धनबहादुर बोहरालाई १४ दिन हिरासतमा राख्न जिल्ला न्यायालय पिथौरागढले अनुमति दिएको छ ।

जिल्ला न्यायालय पिथौरागढबाट १४ दिन हिरासतमा राख्ने बिहीबार आदेश पाएपछि बोहरामाथि थप अनुसन्धान शुरु भएको भारतीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आरोपित बोहरामाथि थप अनुसन्धान गर्न प्रहरीले न्यायालयबाट थप म्याद मागेकाले म्याद थपिएको बताइएको छ । न्यायालयले १४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

कात्तिक ८ गते पिथौरागढको मडधुरामा पुुर्चौंडी–५ दहतोलीका हरिश बोहरा, उनका सहोदर भाइ बीरा बोहरा र पुर्चौंडी–४ भटना तडीखेतका काशी बोहराको हत्या भएको थियो ।

घटना भएलगत्तै हत्याराको खोजीमा रहेको भारतीय प्रहरीले कात्तिक ११ गते भारतकै मन्सुयारीबाट धनबहादुर बोहरालाई नियन्त्रणामा लिएको हो । पुर्चौंडी नगरपालिका–५ घर भएका बोहराले तीन नेपाली मजदूरको हत्या आफूले गरेको भारतीय प्रहरी समक्ष स्वीकार गरेका छन् ।

पक्राउ परेका बोहरा भारतमै मजदूरी गर्दै आएका थिए । बोहराले प्रहरीसमक्ष कात्तिक ८ गते चारै जनाले रक्सी खाएको र पछी रक्सी थप पिउने विषयमा विवाद हुँदा ढुङ्गाले तीनैजनाको टाउकोमा हिर्काएको र त्यसपछि आफैँले उनीहरुको हसियाले लिङ्ग काटेको बयान दिएका छन् । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *