व्यभिचार गर्नेलाई सार्वजनिक स्थलमा बेतको लौरोले पिटियो (३३)
जाकर्ता (बीबीसी) इन्डोनेशियामा व्यभिचारविरुद्ध कडा कानुन बनाउन सहयोग गर्ने संस्थामा काम गर्ने एक पुरुषलाई एक विवाहिता महिलासँग सम्बन्ध राखेको दण्डस्वरूप सार्वजनिक रूपमा बेतको छडीले हिर्काइएको छ । परस्त्रीसँग सम्बन्ध राखेको ठहर भएपछि आचे उलेमा काउन्सिलका मुखलिस बिन मुहम्मदलाई २८ पटक त्यसरी पिटिएको हो । उनीसँग सम्बन्ध राख्ने महिलालाई भने २३ पटक बेतको छडीले हानिएको छ ।
इन्डोनेशियाको आचे क्षेत्रमा कडा इस्लामिक शरिया कानुन अभ्यास गरिन्छ । आचेमा समलिङ्गी सम्बन्ध र जुवा खेलेमा पनि सार्वजनिक रूपमा कोर्रा वा छडी हानिन्छ । “यो अल्लाहको कानुन हो । जो कोही पनि दोषी साबित भएमा कोर्रा खानुपर्छ,’ आचे बेसार क्षेत्रका उपप्रमुख हुसेनी वाहाबले भने । एउटा पर्यटकीय समुद्री तटमा कारभित्र यौन क्रियाकलापमा संलग्न रहेको बेला उनीहरू समातिएका थिए ।
उनीहरूलाई बिहीवार दण्ड दिइएको र मुखलिसलाई काउन्सिलबाट निष्काशन गरिएको हुसेनीले बताए । दण्ड पाउने ४६ वर्षीय पुरुष सन् २००५ मा शरिया कानुन लागु भएयता व्यभिचारमा सजाय पाउने पहिलो धार्मिक गुरु भएको बताइएको छ । आचेमा काउन्सिलले स्थानीय सरकार र संसद्लाई शरिया कानुन बनाउन र लागु गर्न सहयोग गर्छ । सन् २०१७ मा त्यहाँ दुई पुरुषलाई यौन क्रियाकलाप गर्दागर्दै पक्राउ परेपछि ८३ पटक बेतको लौरोले हानिएको थियो । यसरी लौरोले हिर्काउने व्यक्तिले परिचय नखुलोस् भनेर आँखाबाहेक अरू सबै शरीर छोपेका हुन्छन् । यस्तो सजाय सार्वजनिक स्थलमा दिइन्छ । तर बालबालिकालाई त्यो हेर्ने अनुमति छैन ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment