अल्जेरियाको राष्ट्रपतिमा पूर्व प्रधानमन्त्रीसहित ५ जना उम्मेदवार

डिसी नेपाल
१७ कार्तिक २०७६ १२:५७

अल्जियर्स । अल्जेरियाको राष्ट्रपति पदका लागि दुई जना पूर्व प्रधानमन्त्री सहित पाँच जनाले उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ।आमजनताको विरोधका कारण पूर्व राष्ट्रपति अब्देलाजिज बौतेफ्लिकाले राजिनामा गरेपछि राष्ट्रपति पद रिक्त छ।

अल्जेरियाली चुनाव आयोगका प्रमुख मोहमद चार्फीले राष्ट्रपति पदका लागि २३ जनाले उम्मेदवारी दिएको तर तीमध्ये पाँच जनामात्र योग्य रहेको जानकारी दिए । संविधान अनुसार निर्वाचन आयोगले टुङ्ग्याएको नामलाई अन्तिम स्वीकृतिका लागि संवैधानिक परिषद समक्ष प्रस्तुत गरिनेछ।

चुनावी सर्वेक्षणहरुका अनुसार पूर्व प्रधानमन्त्रीहरु अलि बेनफ्लिस र अब्देलमाजिद टेब्बोन भने अग्रपंक्तिमा रहनु भएको छ। करिब २० वर्ष शासन गरेका पूर्व राष्ट्रपति बौतेफ्लिका विरुद्ध अल्जेरियाली जनताले तिब्र विरोध गरेपछि सेनाको दबाबमा गत अप्रिलमा राजिनामा दिए ।

राष्ट्रपति पदका लागि अन्य उम्मेदवारहरुमा बौतेफ्लिकाको सत्तारुढ गठबन्धनको डेमोक्रेटिक नेसनल र्याली पार्टीका नेता अजेडाइन मिलहौबी, पूर्व पर्यटनमन्त्री अब्देलकादेर बेनग्रिना र फ्रन्ट एल–मुस्तकाबेल पार्टीका अध्यक्ष अब्देलाजिज बेलाइद रहेका छन् ।

अधिकारकर्मीहरुले भने निर्वाचनसँग सम्बन्धित कानुनमा व्यापक सुधार गर्नुपर्ने माग गरिरहेका छन्। अल्जेरियामा गत जुलाई ४ का लागि निर्वाचनको मिति तोकिएको थियो तर योग्य उम्मेदवारको अभाव देखाउँदै अन्तरिम राष्ट्रपति अब्देलकादेर बेनसालाह सत्तामा रहनु भएको छ।

आमजनताले अन्तरिम राष्ट्रपतिले जानाजान राष्ट्रपतिको निर्वाचन गर्न ढिलाई गरेको आरोप लगाउँदै फेरि प्रदर्शन गरिरहेका छन्। सरकारले आगामी डिसेम्बर १२ मा निर्वाचन गर्नेगरी नयाँ मिति घोषणा गरेको छ । निर्वाचन कानुनमा सुधार नहुने अवस्थामा गरिएको चुनावले पनि अल्जेरियामा राजनीतिक स्थिरता नल्याउने भन्दै विरोध जारी छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *