अमेरिकाको निष्कर्ष ‘नेपाल अन्तर्राष्ट्रिय आतंकवादीको ट्रान्जिट र आश्रयस्थल थियो र भइरहन सक्छ’

डिसी नेपाल
१९ कार्तिक २०७६ १६:२०

काठमाडौं । अमेरिकाले नेपालमा आतंकवादको खतरा औंल्याएको छ । अमेरिकी विदेश मन्त्रालयको एक प्रतिवेदनमा नेपाल अन्तर्राष्ट्रिय आतंकवादीको ट्रान्जिट र आश्रयस्थल बन्न सक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ । प्रतिवेदनमा भनिएको छ –‘नेपालको भारतसँग खुल्ला सिमाना र काठमाडौंमा रहेको देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा अपर्याप्त सुरक्षा प्रोटोकलका कारण नेपाल विगतमा पनि अन्तर्राष्ट्रिय आतंकवादीको आश्रयस्थल थियो र भविष्यमा पनि भइरहन सक्छ ।’

प्रतिवेदनमा भनिएको छ, ‘नेपालको विमानस्थलमा सुरक्षा अपर्याप्त र कमजोर छ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरुको ‘प्रिस्किन’ गरिँदैन र अवतरण गर्ने यात्रुको तथ्यांक कुनै पनि डाटावेसमा राखिँदैन । प्रतिवेदनले यात्रुहरुको सुरक्षा जाँच गर्ने मानवीय प्रणालीलाई ‘झारा टार्ने खालको’ भनेको छ ।

ट्राभल डकुमेन्टको सुरक्षा सम्बन्धि कुनै व्यवस्था भएको उल्लेख गर्दै प्रतिवेदनमा डकुमेन्टको परिक्षणका लागि अल्ट्राभायोलेट लाइटको अभाव भएको औंल्याइएको छ । नेपाल प्रहरीको विशेष ब्यूरोले करिब १० जनालाई विमानस्थलमा खटाउँछ र यसका करिब १५ अफिसरलाई इन्टरपोल नेसनल सेन्ट्रल ब्यूरोमा खटाउँछ, जुन नेपाल प्रहरीको हेडक्वार्टरमा अवस्थित छ । इन्टरपोलका सूचनाहरु एउटा डाटावेसमा राखिन्छन् तर यो डाटावेश मार्फत यात्रुहरुलाई नियमित स्कृन गरिदैन । अमेरिकाले सूचनाका लागि गरेको आग्रहमा सुरक्षा तथा अध्यागमन अधिकारीहरुले सामान्यतया रेस्पोन्स गर्छन् तर उनीहरुसँग धेरै सूचना नै हुँदैन ।’

नेपालको भारतसँग एक हजार माइलको सीमानामा थोरै चेक प्वाइन्टहरु भएको र पर्याप्त सुरक्षा नियन्त्रण नभएको प्रतिवेदनमा जनाइएको छ । ‘एउटा चेकप्वाइन्टमा एक जना मात्र अध्यागमन अधिकारी उपलब्ध हुन्छन्’ प्रतिवेदनमा भनिएको छ ‘त्यसैले अधिकांस मानिसहरु कुनै रोकावट वा सुरक्षा जाँचबिनै नेपाल प्रवेश गर्न र नेपालबाट बाहिरिन सक्छन् ।’ सीमा सुरक्षामा स्रोत साधनको अभाव रहेको र जनशक्तिले पर्याप्त तालिम नपाएको पनि प्रतिवेदनमा उल्लेख छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *