स्थायी राजधानी र प्रदेश नामकरण १५ दिनभित्र टुङ्ग्याउँछ : मुख्यमन्त्री पौडेल

डिसी नेपाल
२८ कार्तिक २०७६ १८:२७

काठमाडौं । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले ३ नम्बर प्रदेशको स्थायी राजधानी र नामकरण आउँदो १५ दिनभित्र टुङ्गिने दाबी गरेका छन् ।

आन्तरिक राजश्व विभाग र सिस्नुपानी नेपालद्वारा आज हेटौँडामा आयोजित करमैत्री यात्रा हास्यब्यङ्ग्य मनोरञ्जन कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले ‘राजधानी र नामाकरणको विषयको चर्चा धेरै भयो, अबको १५ दिनभित्र टुङ्ग्याउँछु’, भने । कर तिर्नु सबैको दायित्व हो भन्दै जनताले कर तिरेर सरकारको कामलाई सहयोग गर्नुपर्नेमा उनले आग्रह गरे ।

‘देश ऋण र अनुदानबाट होइन, जनताले मेहनत गरेर बुझाएको करबाट राज्य सञ्चालन हुनुपर्छ’, मुख्यमन्त्री पौडेलले भने, ‘कर तिर्ने पद्धतिको विकास गर्नुपर्छ ।’ उनले भने, ‘जनताले तिरेको कर सदुपयोग भएको छ कि छैन, त्यो जनताको अधिकार हो, त्यसमा सजग र सतर्क हुनुपर्छ ।’

सिस्नुपानी नेपालले सरकारको करमैत्री कार्यक्रममार्फत सहयोग गरेको काम सराहनीय भएकोमा मुख्यमन्त्री पौडेलले प्रशंसा गरे ।

आन्तरिक राजश्व कार्यालय हेटौँडाका प्रमुख सन्तबहादुर ढकालको सभाध्यक्षतामा भएको सो कार्यक्रममा कलाकार मनोज गजुरेल, धीरेन्द्र प्रेमर्षिलगायतले कर तिर्ने सम्बन्धमा मनोजञ्जनात्मक प्रस्तुति दिएका थिए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *