शङ्कर कोइराला आख्यान पुरस्कार पद्मावती सिंहलाई

डिसी नेपाल
९ मंसिर २०७६ १३:५०

काठमाडौँ। दायित्व बाङ्मय प्रतिष्ठानद्वारा स्थापित शंकर कोइराला स्मृति पुरस्कार यस बर्ष आख्यानकार पद्मावती सिंहलाई प्रदान गरिएको छ।

दायित्व वाङ्मय प्रतिष्ठान,नेपालको आयोजनामा भएको एक कार्यक्रममा साहित्यिक पत्रकार रोचक घिमिरेले सिंहलाई १५ हजार राशिसहितको शङ्कर कोइराला स्मृति पुरस्कार प्रदान गर्नुका साथै दायित्व द्वैमासिकको शङ्कर कोइराला : कथा–नाटक विशेषाङ्क र रामप्रसाद पन्तद्वारा लिखित ‘सप्तरङ्गी यत्रा’ नियात्रासङ्ग्रहको पनि लोकार्पण गरे।

विशिष्ट आख्यानकार शङ्कर कोइरालाको ९०औँ जन्मजयन्तीको अवसरमा आयोजित सो कार्यक्रममा ‘शङ्कर कोइरालाजस्ता शालीन शिष्ट र प्रचारबाजी नचाहने कर्तव्यनिष्ठ साहित्यकारलाई सम्झेर दायित्वले उनको स्मृतिमा जुन काम गरिरहेको छ, त्यो आफैमा उल्लेखनीय भएको बताएका छन्।

दायित्वको १२०औँ अङ्कको रूपमा प्रकाशित शङ्कर कोइराला विशेषाङ्क बारेमा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकुलपति विष्णुविभु घिमिरेले बोलेका थिए भने साझा प्रकाशनमा कार्यरत छँदाका शङ्कर कोइरालासम्बन्धी अनुभवहरु पनि सुनाएका थिए।

यसैगरी साहित्यकार रामप्रसाद पन्तद्वारा लिखित सप्तरङ्गी नियात्रासङ्ग्रहका बारेमा डा. घनश्याम खतिवडाले समीक्षात्मक मन्तव्य दिएका थिए भने पुरस्कारकी संस्थापिका तथा प्रतिष्ठानकी संरक्षिका भद्रकुमारी घलेले पनि शङ्कर कोइरालाबारे आफ्ना अनुभव र अनुभूतिहरू सुनाएकी थिइन्।

दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा पुरस्कृत व्यक्तित्व पद्मावती सिंहले शङ्कर कोइरालाजस्ता कर्मयोगी आख्यानकारको नाममा स्थापित पुरस्कार ग्रहण गर्न पाउँदा अत्यन्त हर्षित भएको बताएका थिए थियो भने शङ्कर कोइरालाका ज्येष्ठ सुपुत्र अनिल कोइराला, प्रतिष्ठानका महासचिव डा. लेखप्रसाद निरौला र यादव भट्टराईले पनि मन्तव्य दिएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *