देशको प्रतिष्ठामा आँच नआउने गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन

डिसी नेपाल
१४ मंसिर २०७६ १७:५४

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुन नेपाल आउने विशिष्ट अतिथिहरु तथा खेलाडीहरु आगमन समयमा देशको प्रतिष्ठामा आँच नआउने गरी सद्व्यवहारसाथ सुरक्षा व्यवस्था प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।

यही मंसिर १५ देखि २४ गतेसम्म नेपालमा सम्पन्न हुन गइरहेको उक्त प्रतियोगितामा आउने अतिथिहरुको आगमन अवस्थामा गरिने सुरक्षा व्यवस्था निरीक्षण तथा अवलोकनका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सुरक्षाकर्मीहरुलाई शनिबार निर्देशन दिँदै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताए ।

प्रहरी महानिरीक्षक खनालले नेपाल आउने पाहुनाहरुलाई विना झन्झट कुनै अप्ठेरो नपर्ने गरी अत्यन्त शिष्ट व्यवहारका साथ छिटो छरितो सेवा प्रदान गर्ने बताए । अन्तर्राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता र विशिष्ट पाउनाको सुरक्षा र सेवा प्रदान गर्ने यस विशेष अवस्थाको दायित्वलाई अवसरका रुपमा लिई सकारात्मक सन्देश जाने गरी स्तरीय सेवा प्रदान गर्न उनले निर्देशन दिए ।

प्रहरी महानिरीक्षक खनालले बिमानस्थलमा हुन सक्ने अवैध तस्करी र आपराधिक क्रियाकलाप नियन्त्रणका लागि कुनै कसर नराखी काम गर्नुपर्ने समेत बताए।निरीक्षणको क्रममा प्रहरी महानिरीक्षक खनालले विमानस्थलस्थित सुरक्षा उपकरण र साधन स्रोतको अवलोकन गरी यस सम्बन्धमा थप जानकारी समेत लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.