एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट : बुधबार नेपाल र थाइल्याण्ड भिड्दै

डिसी नेपाल
७ कार्तिक २०७५ ४:५८

काठमाडौं । एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपालले बुधबार आयोजक राष्ट्र थाईल्याण्डसँग खेल्दैछ । बलियो मानिएको घरेलु टोली थाईल्याण्डविरुद्ध नेपालले चोनबुरी स्टेडियममा प्रतिस्पर्धा गर्दै छ।

खेल नेपाली समय अनुसार साँझ सवाँ ६ बजे सुरु हुनेछ। थाइल्याण्ड नेपाली यू–१९ टोलीका लागि नौलो प्रतिद्वन्द्वी हो। थाईल्याण्डलाई यस समूहको उपाधि दाबेदार टिम मानिएको छ। तर, दोस्रो चरणमा पुग्ने लक्ष्य लिएको नेपालले पहिलो खेलमा थाईल्याण्डविरुद्ध कडा चुनौती दिने तयारी गरेको छ।

थाईल्याण्डविरुद्ध नेपाल सके जित नत्र बराबरी खेल्ने योजनामा हुनेछ। नेपाली टोलीका मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठले नेपालको दोस्रो चरण पुग्ने सम्भावना बलियो रहेको बताउदै थाईल्याण्डविरुद्ध अंक खोस्ने बताए।

‘पहिलो खेल सधै कठिन हुन्छ। त्यसमाथि थाईल्याण्ड निकै बलियो टोली हो तर हामी बराबरीको लागि खेल्नेछौं।’ प्री म्याच कन्फरेन्समा प्रशिक्षक श्रेष्ठले भनेका छन्।

प्रशिक्षक श्रेष्ठले थाईल्याण्डको खेल आफुले विश्लेषण गरिसकेको बताउदै उनीहरुको फरवार्डलाई रोक्न रणनीति तयार गरेको बताए। प्रशिक्षक श्रेष्ठले नेपालले स्ट्राइकर रेखा पौडेललाई मुख्य हतियार बनाउने बताए। उनले खेलाडीमा इन्जुरीको समस्या नरहेको समेत बताए।

‘युट्युबबाट मैले थाईल्याण्डको खेल हेरेको थिए। उनीहरुको विंगर र फरवार्ड निकै राम्रा छन्,’ श्रेष्ठले भने, ‘मैले उनीहरुलाई रोक्ने रणनीति तयार गरेको छु। हाम्रो टिम सन्तुलित छ। मलाई लाग्छ भोली थाईल्याण्डलाई पनि कठिन हुनेछ।’

प्रशिक्षक श्रेष्ठले थाईल्याण्ड आयोजकको रुपमा दोस्रो चरणको लागि छनोट भए नेपाल छनोटको उपविजेता बन्दै अर्को चरणमा पुग्ने सम्भावना बलियो रहेको बताए। तर, प्रशिक्षक श्रेष्ठले भारतविरुद्धको खेल समेत कठिन हुने बताए।

छनोटको समूह ‘बि’ मा रहेको नेपालले थाईल्याण्डपछि भारत र पाकिस्तानसंग खेल्नेछ। नेपालले दोस्रो खेलमा भारतसंग अक्टोबर २६ र अन्तिम खेल पाकिस्तानसंग २८ अक्टोबरमा खेल्नेछ। छनोटको समूह विजेता टोलीले दोस्रो चरणको छनोटमा स्थान बनाउने छन्।

नेपाली टोलीमा भुटानमा सम्पन्न महिला यू–१८ साफ च्याम्पियनसिप खेलेका खेलाडीको बाहुल्यता छ। यस्तै नेपाली टोलीमा तीन खेलाडी राष्ट्रिय टोलीका सदस्य छन्।

प्रशिक्षण श्रेष्ठले गोलकिपर अन्जना राना मगर, कप्तान सरु लिम्बु र मिडफिल्डर मन्जली योन्जन टिममा रहनु टिमका लागि सबल पक्ष रहेको बताए। तीनै खेलाडी राष्ट्रिय टोलीमा समेत रहेका छन्।

कप्तान सरु लिम्बुले थाईल्याण्डविरुद्ध जित्ने लक्ष्यसहित मैदान उत्रने बताईन्। ‘थाईल्याण्ड कठिन टिम हो तर हामी जितका लागि खेल्नेछौं,’ उनले भनिन्, ‘कठिन टोलीविरुद्ध सतर्क भएर खेल्नेछौं। प्रशिक्षकको रणनीति अनुसार खेल्ने छौ। मलाई विश्वास छ हामी जित्ने छौं।’

नेपाली टोली

गोलकिपर – अन्जना राना मगर, उषा नाथ, कविता राई।

डिफेन्डर – निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समिक्षा घिमिरे, विमला विक, कोपिला धिमाल, पुनम फरसवान, पुजा राना मगर।

मिडफिल्डर – सरु लिम्बु, मन्जली कुमारी योन्जन, शुभद्रा खड्का, अस्मिता बैद्य, मनिषा राउत,सुहानी कुसुवार, सृजना सिंह ठकुरी, सम्झना लावती।

स्ट्राइकर – रश्मी कुमारी घिसिङ, रेखा पौडेल, एलिसा जाम्बा, सम्झाना शर्मा।

मुख्य प्रशिक्षक – हरि ओम श्रेष्ठ।

सहायक प्रशिक्षक – प्रकास बैद्य।

गोलकिपर प्रशिक्षक – अस्मिता खवास।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *