पाकिस्तानमा २ रेल एक आपसमा ठोकिँदा १० जनाको मृत्यु, ६० भन्दा बढी घाईते
इस्लामाबाद । पाकिस्तानमा बिहीबार बिहानै दुईवटा रेल एकआपसमा जुधेर भएको दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै ६० जनाभन्दा बढी घाइते भएका छन्। पाकिस्तानी रेल अधिकारीहरुका अनुसार पंजाब प्रान्तको रहिम यार खानमा दुईवटा रेल जुधेका थिए।
प्रहरीका अनुसार लाहोरबाट आइरहेको यात्रुबाहक रेल र चौबाटो (क्रसिङ) मा रोकिराखेको सामान ढुवानी गर्ने रेल एकआपसमा जुधेका थिए।स्थानीय प्रहरी अधिकृत ओमार सलामतले जियो न्यूजलाई दुर्घटनाका बारेमा प्रतिक्रिया दिँदै दुर्घटनास्थलबाट कम्तीमा दश जनाको शव बाहिर निकालिएको र ६६ जनाभन्दा बढी घाइतेको उद्धार गरिएको जानकारी दिएका छन् ।
घाइतेहरुलाई उपचारका लागि तत्कालै स्थानीय अस्पतालमा भर्ना गरिएको छ । सलामतले घाइतेमध्ये चार जनाको अवस्था अत्यन्त गम्भीर रहेको पनि बताए । पाकिस्तानमा रेल दुर्घटना बेलाबखत भइरहन्छन् । भ्रष्टाचार, अव्यवस्था र लगानीको अभावका कारण दशकौंदेखि पाकिस्तानी रेलसेवा रुग्ण अवस्थामा पुगेको छ ।
पाकिस्तानी रेलमन्त्री शेख रसिद अहमदले घटनाको छानबिन गर्न अनुसन्धान टोली गठन गरिएको जानकारी दिएका छन् । गत जुनमा पनि दक्षिणी सिन्ध प्रान्तमा दुई वटा रेल जुधेर तीन जनाको मृत्यु भएको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment