कसिँदै कांग्रेस र राजपाको मिलन गाँठो, सरकार घेर्ने रणनीति

डिसी नेपाल
१५ साउन २०७६ १३:१७

काठमाडौं। सोमबार प्रतिनिधिसभा बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र प्रतिपक्ष दल राष्ट्रिय जनता पार्टी (राजपा) का सांसदले सदन अवरुद्ध पारे। पूर्व योजना अनुसार यी दुई दलले पछिल्ला दिनमा यस अगाडि पनि संसद अवरुद्ध पारेका थिए।

राजपाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र सर्लाही घटना छानवीन गर्न संसदीय समिति गठन गर्नुपर्नेलगायतका माग राखेको थियो। तर कांग्रेसले भने सर्लाही घटनाको छानवीनलाई मुख्य मुद्दा बनाएको थियो। तर हेक्का राख्नु पर्ने कुराके छ भने यसअघि राजपाले उठाउँदै आएको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने मागमा सोमबारदेखि कांग्रेस पनि सहमत भएको छ।

कांग्रेसका सांसदले नै लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै सोमबारको संसद बैठकमा नाराबाजी गरे। हिजोसम्म कतिपय मुद्दामा फरक अडानमा रहेका यी दुई दलका मुद्दाहरु पनि साझा भएपछि के अब कांग्रेस र राजपाबीच घोषित कार्यगत एकता भएको हो?

गत निर्वाचनमा नराम्रोसँग पराजित भएपछि नेपाली कांग्रेसको भूमिका कमजोर भएको भन्दै पार्टी भित्रैबाट आलोचना हुने गरेको छ। संसदमा कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको भन्दै आलोचना भइरहँदा कांग्रेसले राजपाको मागलाई नै समर्थन गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। कांग्रेसले आफ्नो भुमिका विस्तार गर्ने नीति अनुरुप राजपासँग सहकार्यको नीति अख्तियार गरेको हो त?

दुई तिहाइ बहुमतसहितको कम्युनिष्ट सरकार निरंकुश हुन थालेको भन्दै संसदमा रहेका र संसद बाहिरका लोकतान्त्रिक दलबीच ‘लोकतान्त्रिक गठनबन्धन’ बनाउनु पर्ने चर्चा चलिरहेका बेला कांग्रेसले राजपाको मागलाई समर्थन गर्नुको कारण के होला?

‘अहिले नै राजपासँग कार्यगत एकताका लागि कुनै छलफल र परामर्श भएको छैन,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले डिसी नेपालसँग भने, ‘कतिपय अवस्थामा मिल्नपर्ने ठाउँमा धारणा मिलेको हुनसक्छ। सर्लाही घटनाका विषयमा पनि कांग्रेस र राजपाबीच मुद्दा मिलेको मात्र हो। कार्यगत एकता भएको होइन।’ अहिलेकै अवस्थामा राजपासँग कार्यगत एकता गर्ने विषयमा कुनै छलफल नभएको प्रवक्ता शर्माको भनाइ छ।

तर, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने विषय कांग्रेसले संसदमा उठान गरेपछि राजपा भने हौसिएको छ। राजपाले भने संसदभित्र कांग्रेससँग कार्यगत एकता सुरु गरेको दाबी गरेको छ।

‘अहिले नै राजपासँग कार्यगत एकताका लागि कुनै छलफल र परामर्श भएको छैन,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले डिसी नेपालसँग भने, ‘कतिपय अवस्थामा मिल्नपर्ने ठाउँमा धारणा मिलेको हुनसक्छ। सर्लाही घटनाका विषयमा पनि कांग्रेस र राजपाबीच मुद्दा मिलेको मात्र हो। कार्यगत एकता भएको होइन।’

‘संसदमा कांग्रेस प्रमुख प्रतिपक्ष र हामी (राजपा) प्रतिपक्षको हिवासले कार्यगत एकता सुरु भएको छ,’ राजपा संयोजक राजकिशोर यादवले भने, ‘सोमबार सहमतिमा नै कांग्रेसले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्दा राज्यको विश्वसनीयता झनै बढ्छ।’

संसद बाहिर कार्यगत एकताका विषयमा छलफल भएपनि संसदभित्र भने कांग्रेससँग कार्यगत एकता सुरु भएको उनको भनाइ छ। संसदमा उठाउने कतिपय विषयमा प्रतिपक्ष दलबीच समान धारणा हुनुपर्ने भन्दै संयोजक यादवले कांग्रेसले संसदभित्र उठाएका मागमा राजपाले पनि समर्थन गरेको बताए।

‘सर्लाही घटनाका विषयमा गैरन्यायिक हत्या रोक्नुपर्छ भन्ने विषयमा कांग्रेस र राजपाको समान धारणा हो,’ उनले भने, ‘कांग्रेसले पनि राजपाले उठाउँदै आएको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्छ भनेर संसदमा माग राखेको छ। एकअर्काका मागमा समर्थन गरेर कांग्रेस र राजपाबीच संसदमा कार्यगत एकता सुरु भएको छ।’

मधेस आन्दोलनमा भएका घटनाको छानवीन गर्न तत्काली कांग्रेस नेतृत्वको सरकारले पूर्व न्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा लाल आयोग गठन गरेको थियो। आयोगले सरकारलाई प्रतिवेदन पनि बुझाइ सकेको छ। सभामुख कृष्णबहादुर महराले प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई रुलिङ गरेपनि सरकारले आयोगको प्रतिवेदन सार्वजनिक गरेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *