भक्तपुरमा सवारी दुर्घटना, २ जनाको मृत्यु

डिसी नेपाल
१६ साउन २०७६ १२:१३

भक्तपुर । भक्तपुरमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। चाँगुनारायण नगरपालिका–८ चरेलीमा गएराति कमलविनायकबाट नगरकोटतर्फ जाँदै गरेको बा १० च ४०२६ नंको बोलेरो गाडी आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक घाइते भएका छन्।

गाडी सडकबाट करीब पाँच मिटर तल खस्दा गाडीमा सवार चाँगुनाराण–८ कलमसी बस्ने ३२ वर्षीय कान्छा राईको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए। घाइते गाडी चालक दोलखा मेलुङ गाउँपालिका–१ घर भई हाल जिल्ला चाँगुनारायण–७ बागेश्वरी बस्ने २० वर्षीय प्रदीप राउतको भने भक्तपुर अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ।

त्यसैगरी गएराति मध्यपुरथिमि–३ गठ्ठाघरमा भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको ना६त ८६८ नंको ट्याक्टरमा सोही दिशातर्फ जाँदै गरेको प्रदेश ३–०२–००३ प ५५२९ नंको माटरसाइकल पछाडिबाट ठक्कर खाँदा एकको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन्। मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार रामेछाप सुनापाती गापा–३ घर भएका २९ वर्षीय रोमन तामाङको ट्रमा सेन्टर काठमाडौँ उपचारका क्रममा मृत्यु भएको प्रनाउ पोखरेलले जानकारी दिए।

दुर्घटनामा घाइते हुने मोटरसाइकल चालक रामेछाप सुनापाती गापा–३ बस्ने २८ वर्षीय धनबहादुर थिङको ट्रमा सेन्टर काठमाडौँमा उपचार भइरहेको छ। घटनामा उदयपुर कटारी घर भई हाल जडीबुटी बस्ने ३१ वर्षीय रबिन खत्रीलाई महानगरीय प्रहरी वृत्त थिमिले नियन्त्रणमा लिएको छ भने फरार ट्याक्टर चालकको खोजी भइरहेको प्रहरीले जनाएकोे छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *