उपनिर्वाचन मंसिर १४ गते गराउन सिफारिस

डिसी नेपाल
१६ साउन २०७६ १८:५९

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेका स्थानहरुमा मसिंर १४ गते शनिबार निर्वाचन गराउन सरकारलाई सिफारिस गरेको छ । आयोगले बिहीबार राजनीतिक दलहरुसँगको परामर्शपछि सिफारिस गरेको हो।

आयोगले तीनवटै तहका रिक्त रहेको ५० स्थानका लागि एकै दिन चुनाव गराउन सिफारिस गरेको छ । आयोगले उपनिर्वाचनको मिति सिफारिस गरेपछि अब सरकारले सो विषयमा निर्णय गर्नेछ ।

प्रतिनिधिसभा सदस्य–१, प्रदेशसभा सदस्य–३, नगरपालिका प्रमुख– १, गाउँपालिका अध्यक्ष–३, गाउँपालिका उपाध्यक्ष–१ र वडाध्यक्ष–४१ पदहरु रिक्त छन्। तीनवतै तहको निर्वाचन २०७४ सालमा भएको थियो।

स्थानीय तहको निर्वाचनको मिति आयोगको परामर्शमा सरकारले तथा प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनको मिति सरकारसँगको परामर्शमा आयोगले तोक्ने कानुनी प्रावधान छ। सरकारले स्थानीय तहको मिति तोकेपछि सोही दिन प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गराउने गरी मिति तोक्ने आयोगको तयारी छ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित आयोगका पदाधिकारीहरुले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग उपनिर्वाचन सन्दर्भमा छलफल गरेका थिए । त्यसपछि बिहीबार आयोगमा राजनीतिक दलहरुसँग समेत परामर्श गरी आयोगले मिति सिफारिस गरेको हो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन दुई वर्ष अगाडिमा मसिंरमै भएको थियो । स्थानीय तह निर्वाचन भने त्यो भन्दा अगाडि वैशाखदेखि असोजसम्म तीन चरणमा सम्पन्न भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *