कार्यालय प्रमुखसँग नगरप्रमुखको कार्यसम्पादन सम्झौता

डिसी नेपाल
१७ साउन २०७६ ९:१३

कञ्चनपुर। भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले कार्यालय प्रमुखसित विहीबार कार्यसम्पादन सम्झौता गरेका छन्।

नगरपालिका कार्यालयमा नगरप्रमुख विष्ट र निमित्त प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्टले कार्यसम्पादन सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। नगरपालिकाकाको कार्यसम्पादनलाई प्रभावकारी बनाउन हस्ताक्षर गरिएको सम्झौतापत्रमा प्रमुख प्रशासकीय अधिकृतका लागि १५ बुँदे काम, कर्तव्य, उत्तरदायित्व र अधिकार तोकिएको छ।

सम्झौतापत्रमा दैनिक प्रशासनिक कार्यसम्पादन गर्ने, सभा र कार्यपालिकाको सचिव भई काम गर्ने, वार्षिक कार्यक्रम, बजेट तर्जुमा कार्यान्वयन, अनुगमन र मूल्याङ्कन गर्न लगाउने, आर्थिक कारोवार अभिलेख दुरुस्त राख्न लगाउने, लेखा परीक्षण गराउने र बेरुजु फछ्र्योट गर्न लगाउने बुँदा समावेश गरिएका छन्।

यसैगरी, आयोजनाको फरफारकका लागि प्रतिवेदन तयारी गरी कार्यपालिका बैठकमा पेश गर्ने, कार्यालयको सम्पत्ति संरक्षण गर्ने, लगत राख्ने र अद्यावधिक गर्ने गराउने, कार्यपालिका बैठक तथा नगरसभाका एजेण्डा तयार गर्ने, नगरप्रमुखको निर्देशनमा कार्यपालिका बैठक बोलाउने तथा आवश्यक कार्य गर्ने गराउने र कार्यपालिका बैठक तथा सभाका निर्णय तथा निर्देशनहरु कार्यान्वयन गर्नेलागयतका कार्य सम्झौतापत्रमा उल्लेख गरिएका छन्।

सम्झौताअनुसार प्रमुख प्रशासकीय अधिकृतलाई कार्यपालिका बैठकको निर्णय प्रमाणित गर्ने, सभा र कार्यपालिका निर्णयको अभिलेख सुरक्षित राख्ने, न्यायिक समितिबाट भएका मिलापत्र र निर्णयको मिसिल संरक्षण गर्ने, नगरपालिकाको प्रशासकीय तथा आर्थिक नियन्त्रण गर्ने, वार्षिक खरीद योजनासम्बन्धी कार्य गर्ने, कार्यालयको आवश्यकताअनुसार कार्य विवरणसहित कर्मचारी दरबन्दी सिर्जनाका लागि प्रस्ताव तयार गर्ने कार्य गर्ने जिम्मेवारी दिइएको छ।

नगरप्रमुख विष्टले कार्यसम्पादन सम्झौताले नगरपालिकाको कार्यसम्पादनलाई प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा राखिएको बताए। उनले सम्झौतापछि कार्यालय प्रमुखले शाखा प्रमुख र शाखा प्रमुखले उपशाखा प्रमुखसित कार्यसम्पादन सम्झौता गर्नुपर्ने बताए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *