तिलानदीको काठेपुल बाढीले बगायो, आवतजावत गर्न स्थानीयलाई सास्ती

डिसी नेपाल
१९ साउन २०७६ १०:२९

सुर्खेत । तिला गाउँपालिका–३ जुम्लाको लुम्सेरा गाउँस्थित काठेपुल बगाउँदा आवतजावत गर्न स्थानीयवासीलाई समस्या भएको छ।

तिलानदीमा शनिबार आएको बाढीले ४० वर्षअघि बनाएको काठेपुल बगाएको हो । बाढीले पुल बगाएपछि अहिले वारपार बन्द भएको तिला गाउँपालिका–३ जुम्ला लुम्सेरागाउँका स्थानीयवासी दीपेन्द्रराज हमालले राससलाई जानकारी दिए ।

झोलुङ्गे पुल नबनेको अवस्थामा काठको पुल बग्दा तत्काल वारपार गर्ने विकल्पका लागि गाउँपालिका र जिल्ला प्रशासन कार्यालय जुम्लासँग गुहार मागिएको उनले बताए।

उनका अनुसार स्थानीयवासीको नदी किनारका धान खेतसमेत बाढीले पुरेको छ । सूर्य सामाजिक सेवा सङ्घ जुम्लाले करीब रु ५० लाखको लागतमा दुई वर्षअघि शुरु गरेको झुलुङ्गे पुल तत्कालै बन्ने अवस्था नरहेकाले त्यहाँस्थित ४१ घरधुरीका स्थानीयवासीलाई सकस परेको जनाइएको छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *