रुद्राक्षको दानामा लगाइएको प्लाष्टिकको क्लिप प्रहरीले हटायो

डिसी नेपाल
२१ साउन २०७६ ९:३२

भोजपुर । ठेकेदारले रुद्राक्षको दाना राम्रो बनाउन भन्दै लगाएको प्लाष्टिकको क्लिप प्रहरीले हटाएको छ। ठेकेदारले किसानबाट बगान खरीद गरी आफूखुशी षडानन्द नगरपालिकाको विभिन्न ठाउँमा लगाएको क्लिप हटाएको हो। क्लिप राखेर रुद्राक्षको दाना अप्राकृतिक बनाएको भन्दै गृह मन्त्रालयबाट निर्देशन आएपछि क्लिप हटाएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख नरबहादुर सलामीमगरले जानकारी दिए।

षडानन्द नगरपालिकाको केउरेनीपानी र साल्मा भन्ने ठाउँमा रुदाक्षको बोटमा लगाइएको क्लिप हटाइएको प्रहरीको भनाइ छ। प्रहरीले केउरनेपानीका पीताम्बर लम्सालको बगानमा लगाइएको १०६ र साल्माका ज्ञानेन्द्र बस्नेतको बगानमा लगाएको २२५ क्लिप हटाएको हो। कृषकबाट नेपाली व्यवसायीले बोटमै ठेक्का लिएर आफूखुशी क्लिप लगाएर आकार परिवर्तन गरेकाले गृह मन्त्रालयको निर्देशनअनुसार क्लिप हटाइएको प्रहरीले जनाएको छ ।

चिनियाँ व्यापारीले प्लाष्टिक क्लिपको सहायतामा रुद्राक्षको दानालाई गोलो, अण्डा र थेप्चो आकारमा आवश्यकताअनुुसार बनाउने गरे पनि अप्राकृतिक रुद्राक्षले अन्तर्राष्ट्रिय बजारमा पार्ने असरका बारेमा भने कृषक अनभिज्ञ रहेका छन्। रुद्राक्षको अप्राकृतिक आकार र रूपले विश्वबजारमा नेपाली गुणस्तर र छवि बिग्रने भएकाले क्लिप हटाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

सम्बन्धविच्छेदका ९९ मुद्दा, पुरुषका तर्फबाट ३६

भोजपुरमा पछिल्लो समय सम्बन्धविच्छेदका मुद्दामा वृद्धि भएको पाइएको छ । जिल्ला अदालत भोजपुरको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा मात्र ९९ मुद्दा दर्ता भएका छन्। छत्तीस मुद्दा पुरुषले दर्ता गराएका छन् भने बाँकी महिलाले दर्ता गराएको अदालतले जनाएको छ । पुरुषले पनि श्रीमतीविरुद्ध सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गर्न सक्ने नयाँ कानूनी व्यवस्थाको प्रयोग गर्दै ३६ पुरुषले जिल्ला अदालतमा मुद्दा दर्ता गराएका हुन्।

भदौ १ गतेदेखि लागू भएका पाँच नयाँ कानूनमध्ये मुलुकी देवानी कार्यविधि (संहिता) ऐन, २०७४ मा उल्लेखित व्यवस्थाको प्रयोग गर्दै उनीहरूले मुद्दा दर्ता गराएका हुन्। कार्यालयका अनुसार वैदेशिक रोजगारी, अविश्वास र रकम हिनामिना, सामाजिक सञ्जालको दुरुपयोग, घरेलु हिंसालगायतका कारण सम्बन्धविच्छेद घटना बढ्दै गएको हो। विगत दुई आर्थिक वर्षको तथ्याङ्कअनुसार जिल्ला अदालतमा यो वर्ष सम्बन्धविच्छेदका मुद्दा बढेको अदालतको भनाइ छ। गत आर्थिक वर्षमा परेका ९९ मुद्दामध्ये ८३ मुद्दा फछ्र्योट भएका छन् भने १६ मुद्दा बाँकी रहेको जिल्ला अदालतले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *