कुलमानको कमाल, विद्युत प्राधिकरणको नाफा सात अर्ब

डिसी नेपाल
२८ साउन २०७६ १५:२८

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले आर्थिक वर्ष २०७५ /७६ मा ७ अर्ब बढी नाफा कमाएको छ। उर्जा जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी आर्थिक वर्ष २०७५/७६ मा प्राधिकरणले ७ अर्ब २० करोड नाफा कमाएको जानकारी दिएका हुन्।

२०७४/७४ मा प्राधिकरणले २ अर्ब ९० करोड नाफा कमाएको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा प्राधिकरणले १ सय ४९ प्रतिशतले बढी नाफा कमाएको हो। प्राधिकरणले साँवा , व्याज र रोयल्टी गरी राज्यको ढुकुटीमा १५ अर्ब ५९ करोड रुपैयाँ जम्मा गरेको छ।

प्राधिकरणले विद्युत् चुहावटमा पनि उल्लेख्य रुपमा कमी ल्याएको छ। अघिल्लो वर्षको भन्दा ५ दशमलव १३ प्रतिशतले विद्युत् चुहावट घटेको छ। हाल प्राधिकरणको विद्युत् चुहावट १५ दशकमलब १३ प्रतिशत छ।

प्राधिकरणले गत आर्थिक वर्षमा ३ करोड ४७ लाख युनिट अर्थात् ३२ करोड रुपैयाको विद्युत् निर्यात गरेको छ। पत्रकार सम्मेलनमा उर्जा मन्त्री पुनले लामो समय देखि रुग्न बनेको अप्पर त्रिशुली ३ ‘ए’ तथा कावेली करिडोर लगायतका उत्पादन तर्फ १, प्रशारण तर्फ ३ र वितरण तर्फ ३४ गरी ३८ वटा रुग्न आयोजनाहरु सम्पन्न भएको जानकारी दिए।

उनले काठमाडौं उपत्यकालाई तार रहित बनाउने अभियान अन्र्तगत भूमिगत तार बिछ्याउने काम छिट्टै सुरु गरिने बताए।
विद्युत् चुहावटमा कमि ल्याउँदै प्रभावकारी सेवा विस्तार लगायतका सुधार गर्दै अघि बढेको प्राधिकरणले भविष्यमा थप नाफा आर्जन गर्ने विश्वास व्यक्त गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *