अवैध बस्ने पर्यटक बढे, वर्षौंदेखि कोही कुखुरापालन गर्दै त कोही होटलमा काम गर्दै

डिसी नेपाल
२८ साउन २०७६ १५:४१

चिप्लेढुङ्गा। पोखरामा अवैध रुपमा बसोबास गर्ने पर्यटकको सङ्ख्या बढेको छ। पर्यटक प्रहरी कार्यालय लेकसाइडको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५/७६ मा अवैध रुपमा बसोबास गर्ने पर्यटकको सङ्ख्या २२ रहेको छ।

त्यसमा रुसका धेरै छन् भने अन्यमा लेवनान, फ्रान्स, टर्की, केन्या, पोल्याण्ड, बेलायत, यमन, चीन, नेदरल्याण्डस्का नागरिक छन्। उनीहरुलाई लेकसाइड आसपासका क्षेत्रबाट पक्राउ गरिएको हो। आव २०७४/७५ मा अवैध बस्ने पर्यटकको सङ्ख्या ६ जना रहेको थियो।

पर्यटक प्रहरी प्रमुख भगवती तिमिल्सिनाका अनुसार पछिल्लो समय विदेशी पर्यटकमा निगरानी बढाएको कारणले सङ्ख्या बढेकोे उनको भनाइ छ। “पहिला कहीबाट आएको सूचनालाई आधार मानिन्थ्यो, अहिले हामी आफैँले विशेष चासोसाथ निगरानी बढाएपछि पक्राउ पर्ने बढेको हो”, तिमिल्सिनाले भनिन्। फिलिपिन्सका नागरिक अल्बर्टले १९ वर्षदेखि कास्कीको ठूलाखेतमा कुखुरापालन व्यवसाय गर्दै आएको भेटिएको छ भने नेदरल्याण्ड्सका रुवेन १० वर्षदेखि लेकसाइडकै एक होटलमा गैरकानूनी रुपमा काम गर्दै आएको भेटिएको उनको भनाइ छ।

पक्राउ पर्ने अधिकांशको राहदानी र प्रवेशाज्ञा छैन। पक्राउ परेका विदेशीलाई अध्यागमन कार्यालय पोखरामार्फत विभागमा पठाइएको छ। अवैध बसोबास गर्ने अधिकांश नागरिक शहर भित्रका होटलभन्दा बाहिर अपार्टमेन्ट र हामेस्टेमा बस्ने गरेको होटल सङ्घका केन्द्रीय सदस्य भरतराज पराजुली बताउछन्।

“हामीले अधिकांश पर्यटकको राहदानीको फोटोकपी र प्रवेशाज्ञा हेर्ने गर्छौै तर अवैध बस्नेहरु आर्थिक रुपमा कमजोर रहेका पर्यटक हुन्छन्। उनीहरु शहरभन्दा अलि टाढा सुरक्षित स्थान खोजेर बस्ने गर्छन् ।” पराजुलीले अब हरेक होटलमा राहदानीसँगै प्रवेशाज्ञा पनि निगरानी गर्न आवश्यक रहेको बताए।

त्यसैगरी गैरकानूनी रुपमा ड्रोन क्यामेरा प्रयोग गर्ने विदेशी नागरिकलाई पर्यटक प्रहरीले पक्राउ गरेको छ। आव २०७५ ÷७६ मा तीन त्यस्ता नागरिक पक्राउ परेका छन्। त्यसअघि २०७४/७५ मा ११ विदेशी नागरिकलाई पक्राउ गरिएको थियो। पक्राउ परेकालाई नागरिक उड्डयन कार्यालय पोखरामा बुझाइएको तिमिल्सिनाले बताइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *