गोसाइँकुण्ड दर्शन गर्न जाने यात्रुको संख्या हरेक वर्ष बढ्दै (फाेटाेफिचर)

डिसी नेपाल
३० साउन २०७६ १३:२४

काठमाडौं। हरेक वर्ष जनैपूर्णिमाका दिन धार्मिक तथा पर्यटकीय स्थल गोसाइँकुण्डमा भत्तजनहरुको घुइँचो लागने गर्दछ। हरेक वर्ष साउन शुक्ल पूर्णिमा (जनैपूर्णिमा)का दिन भक्तजनहरु मेला भर्न आउने गर्दछन्। हरेक वर्ष गोसाइँकुण्ड जाने पर्यटकको संख्या बढ्दै गएको छ।

यसपटक पनि गएका वर्षहरुभन्दा बढी भक्तजनहरु गोसाइँकुण्ड पुगेका छन्। सुर्यकुण्डमा होटल संचालन गरेर बसेका दोर्जे लाक्पाका अनुसार २०७२ सालको भूकम्पपछि गोसाइँकुण्ड दर्शन गर्न जाने यात्रुहरुको संख्या बढ्दै गएको छ। यहाँ मेला भर्न देश तथा विदेशबाट मानिसहरु आउने गर्दछन्।

विशेषगरी नेपाल र भारतका मानीसहरुको उपस्थिति बढी देखिन्छ। यहाँ जान दुईवटा बाटो छन्। एक हिँड्न सक्नेहरुकालागि काठमाडौंको सुन्दरीजलबाट पर्यटकीय स्थल चिसापानी पदमार्ग हुँदै ३ दिनमा गोसाइँकुण्ड पुग्न सकिन्छ। दोस्रो काठमाडौंबाट रसुवाको सदरमुकाम धुन्चेसम्म एक दिन गाडिमा र अर्को दिन त्यहाँबाट ठाडो उकालो हिँडेर दुई दिनमा गोसाइँकुण्ड पुग्न सकिन्छ।

पौराणिक कथनअनुसार परापूर्वकालमा देवता र दानवबीच भएको लडाईंमा समुन्द्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरी विषको डाह शान्त गर्न हिमालयखण्डको काखमा भगवान शिवशंकरले आफ्नो हातमा भएको त्रिशूलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगाजल उत्पति भई गोसाईकुण्ड बनेको हो।

जनैपुर्णिमाका दिन सबै देवी देवताहरुको गोसाइँकुण्डमा जमघट हुने भएकाले उक्त दिन कुण्डमा पूजा तथा स्नान गर्दा सबै देवताको दर्शन मिल्ने किम्बदन्ती रहेको छ। साथै जनैपूर्णिमाको दिन भक्तजनहरुले कुण्डमा स्नान गरेपछि जनै फेर्ने र रक्षाबन्धन बाँध्ने गर्छन्।

आ–आफ्नो परम्परा अनुसार जनै पूर्णिमाको दिन लगाइने जनै वा डोरो कुण्डमा चोपलेपछि कुनै पनि मन्त्र उच्चारण गर्नु नपर्ने मान्यतासमेत रहिआएको छ। रसुवा जिल्लामा पर्ने गोसाइँकुण्ड लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्दछ। यो समुन्द्र सतहदेखि ४ हजार ३ सय ८० मिटरको उचाईमा अवस्थित छ। यसको लम्बाई ६ सय मिटर रहेको छ भने चौडाई ३ सय ७० मिटर रहेको छ। गोसाइँकुण्डमा प्रत्येक वर्ष गंगादसहरा र जनैपूर्णिमा गरी वर्षको २ पटक विशेष मेला लाग्ने गर्दछ।

४३ सय ८० मिटरको उचाइमा रहेको यो कुण्डभन्दा माथि ४ वटा र तल २ वटा गरि ६ वटा अन्य कुण्डहरु पनि छन्। सबैभन्दा माथि ४६ सय १० मिटरको उचाइमा सूर्यकुण्ड छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *