बिदाका दिनसमेत स्वास्थ्य संस्था खुला रहने
सल्यान । त्रिवेणी गाउँपालिकाले ३६५ दिन नै स्वास्थ्य संस्थाबाट सेवा प्रवाह गर्ने भएको छ। गाउँपालिकाभित्रका नागरिकले बिदाको दिनसमेत स्वास्थ्य सेवा प्राप्त गर्ने गरी स्वास्थ्य संस्था खुला राख्ने व्यवस्था गरिएको हो। गाउँपालिकाभित्रका चार स्वास्थ्यचौकी र दुई सामुदायिक स्वास्थ्य एकाइ खुला राखेर सेवा प्रवाह भइरहेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाभित्रका नागरिकले बिदाका दिन पनि सहजरूपमा स्वास्थ्य सेवा प्राप्त गर्न सकुन् भनेर यो व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष मानबहादुर डाँगीले जानकारी दिए। “गाउँपालिकाभित्रका नागरिक सानो–सानो बिरामी हुँदा मेडिकल र जिल्ला बाहिर नजाउन् र सरकारी स्वास्थ्य संस्थाबाटै सेवा प्राप्त गर्न सकुन् भनेर यो व्यवस्था गरिएको हो, अब वर्षभरि गाउँपालिकाभित्रका सबै स्वास्थ्य संस्था खुला रहनेछन्”, अध्यक्ष डाँगीले भने।
कर्मचारी व्यवस्थापनका लागि बिदाका दिन अतिरिक्त सुविधाको व्यवस्था गरिएको उनले जानकारी दिए। “स्थानीय तह आफैँमा सरकार पनि हो, सरकारले जनताका आधारभूत सेवा प्रवाहमा कमी हुन दिँदैन, यहाँ सम्भव हुने उपचार यही हुन्छ, सम्भव नभए बाहिर लैजान गाउँपालिकाले एम्बुलेन्सको व्यवस्था गरेको छ”, उनले भने। बिदाका दिन स्वास्थ्य संस्थाबाट सेवा दिएपछि स्थानीयवासी खुशी भएका प्रमुख प्रशासकीय अधिकृत रेमन्त डाँगीले बार्ता।
“बिदाका दिन खटिने कर्मचारीलाई सुविधाको व्यवस्था गरेका छौँ, हाम्रो उद्देश्य नागरिक बिदाको दिन भनेर स्वास्थ्य सेवाबाट बञ्चित नहोऊन् भन्ने हो, यसले कर्मचारीमा समेत उत्साह थपेको छ”, उनले भने। उन्नाइस हजार जनसङ्ख्या भएको त्रिवेणीमा बिदाका दिन विद्यार्थीले बढी सेवा लिने गरेका गाउँपालिकाले जनाएको छ। रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment