संसद बैठकमा रवि लामिछानेको रोचक संयोगः प्रतिनिधिसभामा विरोध, राष्ट्रियसभामा समर्थन

डिसी नेपाल
४ भदौ २०७६ १२:४९

काठमाडौं। रवि लामिछानेसहित तीन जनालाई आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ गरी अनुसन्धान चलिरहेका बेला संसद बैठकमा पनि यो विषयले प्रवेश पाएको छ । संसद बैठकमा यो विषयले प्रवेश मात्र पाएन सांसदमा यसको प्रभाव निकै रोचक देखियो । अहिलेसम्म प्रतिनिधिसभामा रविको समर्थनमा कुनै पनि सांसद बोलेका छैनन् तर राष्ट्रियसभामा भने सांसद उनको समर्थनमा बोलेका छन् ।

प्रतिनिधिसभामा हालसम्म यो प्रकरणमा नेकपाका पाँच सांसद बोलेका छन्। जसमा अधिकांश रवी लामिछानेका समर्थकप्रति आक्रोशित देखिएका छन्। प्रतिपक्षी नेपाली कांग्रेस र राजपाका सांसद भने यो प्रकरणमा अहिलेसम्म बोलेका छैनन्। यो विषयमा प्रतिनिधि सभामा नेकपाका सांदहरु महेश्वरजंग गहतराज, यज्ञ सुनुवार आइतबार बोलेका थिए । मंगलबारको बैठकमा नेकपाकी सचेतक शान्ता चौधरी, सांसद हितबहादुर तामाङ र नारायणप्रसाद खतिवडा बोले। सबैले रविका समर्थकको शैली अराजक भएको भन्दै विरोध गरे ।

बुधबार राष्ट्रियसभामा भने आत्महत्या गर्ने व्यक्तिले आरोप लगाएकै भरमा कसैलाई थुन्न पाइन्छ कि पाइँदैन भन्नेबारे प्रश्न उठेको छ । कांग्रेस सांसद मुक्ताकुमारी यादवले बुधबार राष्ट्रियसभा बैठकमा यस्तो प्रश्न गरेकी हुन् । सिंहदरवार परिसरभित्र रहेको राष्ट्रिय योजना आयोगको कार्यालयमा नायव सुब्बा बच्चुराम केसीले विषादी सेवन गरी आत्महत्या गरेको प्रसंग निकाल्दै उनले भनिन्, ‘दिनदिनै किन आत्महत्या भइरहेको छ, पत्ता लगाउने काम सरकारको हो कि होइन ?’

पत्रकार शालिकराम पुडासैनीको मृत्युका बारेमा समेत प्रश्न उठिरहेको भन्दै उनले पुडासैनीको हत्या हो या आत्महत्या भन्नेबारे सत्यतथ्य बाहिर ल्याउन मागसमेत गरिन् । उनले प्रश्न गरिन्, ‘कसैले आरोप लगाउँदैमा थुन्न पाइन्छ कि पाइँदैन ?’ किटानी जाहेरी नपरी रवि लामिछानेसहित तीन जनालाई पक्राउ गरिएको भन्दै उनले सोधपुछका लागि उनीहरुलाई बोलाउन सक्ने अवस्था रहँदा रहँदै कार्यालयमै गएर पक्राउ गर्न जरुरी नरहेको बताइन् । आशंका प्रकट गर्दै उनले भनिन्, ‘यो कसैको दबाबमा भएको हो कि ?’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *