अमेजनको आगलागीलाई फ्रेन्च राष्ट्रपतिले अन्तर्राष्ट्रिय सङ्कट भन्नुको कारण के हो?

डिसी नेपाल
६ भदौ २०७६ ८:४६

बीबीसी । फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोँले अहिलेसम्मकै उच्च सङ्ख्यामा अमेजन जङ्गलमा लागेको डढेलो अन्तर्राष्ट्रिय सङ्कट भएको बताएका छन्। यो बिषय आसन्न जी सेभेन सम्मेलनको मुख्य बिषय बन्नुपर्ने उनको भनाइ छ। ठूला अर्थतन्त्रहरूको समूह जी सेभेनका नेताहरू शनिवार फ्रान्समा भेला हुँदैछन्।

सम्मेलनका आयोजक माक्रोँले अमेजनको स्वास्थ्यसँग अन्तर्राष्ट्रिय सरोकार जोडिएको भन्दै सचेत गराएका हुन्।  ‘हाम्रो घर वास्तवमै जलिरहेको छ’, माक्रोले ट्वीट गर्दै भनेका छन्, ‘हाम्रो ग्रहकै २० प्रतिशत अक्सिजन उत्पादन गर्ने अमेजन जङ्गल अहिले आगोमा छ। जी सेभेन सम्मेलनका सदस्यहरू, आउनुस् दुई दिनमा यो आपत्‌कालीन अवस्थाको कुरा सबैभन्दा पहिले गरौं।’

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले उक्त क्षेत्र जैविक विविधताको मुख्य स्रोत रहेको भन्दै त्यसको संरक्षण हुनुपर्ने बताए। गुटेरसले ट्वीट गर्दै भनेका छन्, ‘विश्वव्यापी जलवायु सङ्कटका माझ हामी हाम्रो अक्सिजन र जैविक विवधतामा थप क्षति बेहोर्न सक्दैनौं। अमेजनको संरक्षण हुनैपर्छ।’

न्याश्नल इन्स्टिच्युट फर स्पेस रिसर्च (आइएनपीई) को अन्तरिक्षबाट लिइएका विवरणका अनुसार गत वर्षभन्दा यो वर्ष ब्रजिलमा डढेलोको सङ्ख्या ८५ प्रतिशतले बढेको देखिन्छ। जुन धेरैजसो अमेजन जङ्गल क्षेत्रमा पर्छ।

ब्रजिलको छिमेकी देश बोलिभियामा समेत डढेलोले निकै असर पुर्‍याएको छ। अधिकारीहरूका अनुसार देशको दक्षिणपूर्वी सन्त क्रुज प्रान्तको पाँच लाख हेक्टर क्षेत्र डढेलोले नष्ट पारेको छ। विश्वको निकै गरिबमध्येको एक बोलिभियाले छिमेकी पाराग्वे र ब्रजिलसँग सहायता मागेको छ।

राष्ट्रपति इभो मोरालेसले अग्नि नियन्त्रण हवाईजहाज सुपर ट्याङ्कर ७४७ भाडामा लिएर आगो रोक्ने प्रयास गर्न लागिएको बताएका छन्। ७० हजार लिटर पानी बोक्न सक्ने उक्त जहाज कहिलेसम्म आइपुग्ने भन्ने स्पष्ट छैन। ब्राजिलका राष्ट्रपति जइर बोल्सोनारुले यसअघि डढेलोसँग जुझ्न आफ्नो सरकारसँग स्रोतको अभाव रहेको बताएका थिए।

बोल्सोनारुले गैरसरकारी पक्षहरूले आगजनी सुरु गरेको आशङ्का गरेका छन्। तर आफ्नो आशङ्का पुष्टि गर्ने प्रमाण भने नभएको उनको भनाइ छ। संरक्षणकर्मीहरूले भने काठ व्यापारी र कृषकहरूलाई जमिन खाली गर्न राष्ट्रपति बोल्सोनारुको सरकारले प्रोत्साहन गरेपछि अमेजनको यस्तो हविगत भएको आरोप लगाएका छन्।

बोल्सोनारुले माक्रोँको भनाइप्रति प्रतिक्रिया जनाउँदै ब्राजिलको आन्तरिक बिषयलाई आफ्नो राजनीतिक फाइदा को बिषय बनाएको आरोप लगाए। उनले आफू अमेजनका बारेमा छलफल गर्न खुला रहेको बताउँदै त्यो वस्तुगत विवरण र आपसी सम्मानमा आधारित हुनुपर्ने बताएका थिए।

तर त्यो जी सेभेनमा कुरा गर्नुपर्ने विषय रहेको कुरालाई चाहीं उनले अस्विकार गरे। बोल्सोनारूले सामाजिक सञ्जालमा लेखेका छन्ः ‘अमेजन क्षेत्रका बिषयमा बारेमा जी सेभेनमा कुरा गर्नुपर्ने फ्रेन्च राष्ट्रपतिको सुझावमा उक्त जङ्गल पर्ने देशहरू छैनन्। यो असंगत उपनिवेशवादी सोच हो, जसको २१औं शताब्दीमा कुनै स्थान छैन।’

आइएनपीईले जनवरीदेखि अगस्ट महिनाबीचमा ७२ हजारवटा डढेलोका घटना पहिचान गरेको बताएको छ। यो त्यस्तो विवरण राख्न थालिएको सन् २०१३ पछिको सबैभन्दा बढी सङ्ख्या हो। अन्तरिक्षबाट खिचिएका तस्बिरमा ब्रजिलको उत्तरी राज्य रोराइमाको अधिकांश भाग कालो मुस्लोले ढाकेको देखिन्छ।

त्यस आसपासमा पर्ने बन क्षेत्रमा सङ्कटकाल घोषणा गरिएको छ। सुक्खायाममा डढेलो लाग्ने क्रम ब्रजिलमा नौलो नभए पनि गैरकानुनी रूख कटान गर्ने र पशुपालनका लागि मानिसहरूले जानीजानी आगो लगाउन थालेको बताइन्छ। राष्ट्रपति जइर बोल्सोनारुले भने माक्रोँलाई मिथ्या तस्बिरहरूसाथ यस बिषयलाई उचालेको आरोप लगाएका छन्।

अन्तरिक्षबाट सङ्कलित तथ्याङ्कको खण्डन गर्दै नयाँ बाली लगाउन किसानहरूले खोस्टा जलाउँदा त्यस्तो देखिएको उनको दाबी छ। विश्व वन्यजन्तु कोषका अमेजन कार्यक्रम प्रमुखले यसलाई पछिल्ला वर्षमा बढिरहेको बन–जङ्गल फँडानीको नतिजा बताएका छन्। विश्वको सबैभन्दा ठूलो रेन फरेस्ट अमेजन कार्बन भण्डारण भएको मुख्य क्षेत्र भएपनि विश्वव्यापी तापमान वृद्धिसँगै त्यो घट्दोक्रममा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *