किसानलाई पेन्सन दिन्छौँ : कृषिमन्त्री खनाल

डिसी नेपाल
६ भदौ २०७६ २३:५९

हेटौँडा । सङ्घीय सरकारका कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले देशका दुई तिहाइ नागरिक संलग्न भएको कृषि पेशालाई नै देशको प्रमुख उद्योगका रूपमा अगाडि बढाउन लागिएको बताएका छन्।

प्रदेश ३ सरकारको अनुदानमा अग्रेली कृषि फारमद्वारा निर्मित “एग्रिनेट हाउस” को आज हेटौँडामा उद्घाटन कार्यक्रममा मन्त्री खनालले प्रधानमन्त्रीले समेत देशको मुख्य आम्दानीको स्रोत कृषि नै हुनसक्ने बताएको उल्लेख गरे।

मन्त्री खनालले समृद्धिको मूल आधार कृषि भएकाले आधुनिक कृषि प्रणालीमार्फत व्यवहारमा उतारिने बताए। निर्वाहमुखी कृषिबाट उचित प्रतिफल प्राप्त गर्न नसकिएकाले आधुनिक प्रविधिमार्फत थोरै लगानीमा धेरै प्रतिफल प्राप्त हुनेगरी खेती हुनुपर्ने उनको भनाइ थियो।

मन्त्री खनालले देशबाहिर रहेका युवाहरू ठोस योजना बिनाको आह्वानले मात्र स्वदेश नफर्किने बताए। उनले विदेशमा रहेका युवाहरूलाई आकर्षित गर्न सरकारले “कृषिमा युवा” नामक कृषि कार्यक्रम अघि सारेको र उक्त कार्यक्रममा युवाहरूले अनलाइन मार्फत आवेदन दिएर कृषि उद्यममा सहभागी हुन पाउने उल्लेख गरे।

मन्त्री खनालले कृषि उत्पादनलाई प्रोत्साहन गर्न २५ वर्ष देखि ६० वर्ष उमेर समूहमा कृषिमा योगदान दिने नागरिकलाई वर्गीकरण गरेर ५० प्रतिशतदेखि १५० प्रतिशतसम्म योगदानमा आधारित पेन्सनसमेत दिइने बताए।

“झण्डै रु ८० अर्बको दाल, चामल, तेलजस्ता कृषि उपज आयात हुने हाम्रो देशमा रु आठ करोडको हरियो धनियाँसमेत आयात हुन्छ, त्यो रोक्न हामीले उत्पादन गर्नुपर्छ”, उनले भने। देशको ३० प्रतिशत खसी, बोकाको मागलाई आयातमार्फत पूरा गर्नुपरेको बताउँदै मन्त्री खनालले नेपाली बजारमा अझै दैनिक तीन लाख लिटर दूध नपुगेको उल्लेख गरे।

खनालले नेपाली किसानलाई प्रोत्साहन गर्न सरकारले विदेशी धुलो दूधको आयातमा प्रतिबन्ध लगाएको उल्लेख गर्दै दूध उत्पादक किसानले सडकमा दूध पोखेर आन्दोलन गर्ने अवस्था अन्त्य गरिएको बताए। गाई तथा भैँसी पालन गरेर दूध उत्पादन गर्न अनुरोध गर्दै उहाँले दूधको मूल्य चाँडै नै बढाउने तयारी गरिएको समेत बताए।

कार्यक्रममा प्रदेश ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले विगतमा हरेक नेपालीले कृषि उत्पादन गरेको भए पनि त्यो आफैँ खान र आफू बाँच्नका लागि मात्रै भएकाले अब अरुलाई बेच्न र आम्दानी गर्न खेती गर्नुपर्ने धारणा राखे। अब व्यावसायिक खेती गरेर रोजगारी सिर्जना गराउनेतर्फ पनि सोच्नुपर्ने उनको भनाइ थियो।

विगतमा कृषिका लागि भन्दै अनुदान लिएर अर्काको बारी, अर्कैको गोठको फोटो खिचेर राज्यको अनुदानको दुरूपयोगसमेत भएकाले प्रदेश सरकारले अनुदान दिएका हरेक कृषक कहाँ पुगेर कामको अवस्था बुझेर मात्र भुक्तानी गरिएकाले अब झुक्याउन नपाउने उहाँको भनाइ थियो।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *