नबिल बैंकको सामुहिक व्यक्तिगत दुर्घटना बीमा योजना

डिसी नेपाल
१७ भदौ २०७६ ११:३५

काठमाडौं। नबिल बैंकले आफ्ना ग्राहकलाई व्यक्तिगत बचत खातामा १३ घातक रोगहरुको बीमा सुविधा प्रदान गर्दै आएकोमा अब व्यक्तिगत बचत खाता ग्राहकलाई लक्षित गरी दश लाखको सामुहिक व्यक्तिगत दुर्घटना बीमा योजना ल्याएको छ।

यो योजना भदौ १५ गते देखि लागू हुने गरी नबिल बैंकको तर्फबाट बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत अनिल खनाल र एनएलजी बीमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिलबल्लभ पन्तबीच सम्झौता भएको छ।

यस योजना अन्तर्गत, दैनिक मौज्दात पाँच हजार वा सो भन्दा बढी राख्ने जुन सुकै प्रकारका नेपाली मुद्राका व्यक्तिगत बचत खातावालालाई दश लाखको सामुहिक व्यक्तिगत दुर्घटना बीमा गरिएको बैंकले जनाएको छ।

यस योजना अन्तर्गत बचतकर्ताको दुर्धटनाद्वारा मृत्यु भएमा अथवा स्थायी पूर्ण असक्तता भएमा एकमुस्ठ दश लाख बीमा रकम प्रदान गरिने बैंकले जनाएको छ।

यस योजना अन्तर्गत आफ्नो नेपाली मुद्रा खातामा न्यूनतम पाँच हजार मौज्दात राख्ने बचत खातावालाको बीमा स्वत रुपमा १५ भदौमा भइसकेको छ। यो योजनामा सहभागी भइरहन बचतकर्ताले सधैं पाँच हजार वा बढी मौज्दात कायम राख्नुपर्नेछ।

त्यसैगरी पाँच हजार वा त्यो भन्दा बढी मौज्दात कायम नभएका व्यक्तिगत बचत खातावालाले आफ्नो खातामा नेपाली क्यालेन्डर बमोजिम कुनैपनि महिनाको पहिलो दिनबाट सधंै उक्त मौज्दात कायम राखी यस योजनामा सहभागी हुन सक्ने बैंकले जनाएको छ।

नयाँ व्यक्तिगत बचत खाता खोल्ने ग्राहकको हकमा बैंकको कुनै पनि व्यक्तिगत बचत खाता खोली पाँच हजार वा त्यो भन्दा बढीको मौज्दात खाता खोलेको महिनाको अन्त्यमा मात्र पनि कायम राखी खाता खोलेकै दिनबाट यो योजनामा सहभागी हुन सकिने छ।

यस योजनामा सहभागी हुन कुनै उमेर हद नभए पनि नावालकको हकमा खाता संरक्षक यस योजनामा विमित हुन सक्नेछन्। बैंकले प्रदान गरिरहेको समान बीमा योजना ग्राहक स्वयंले खरिद गर्दा शुल्क व्यर्होन पर्ने हुन्छ तर आफ्ना व्यक्तिगत बचतकर्ताको हितलाई मध्यनजर गरी यस योजनामा सहभागी हुँदा लाग्ने बीमा प्रिमियमको खर्च बैंक स्वयंले व्यहोर्ने छ।

सन् १९८४ देखि आफ्ना ग्राहकलाई समयानुकुल सेवा प्रदान गर्दै आएको नबिल बैंकको ७९ शाखा, १४० एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु छन्। बैंकले देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्ट मार्फत् उच्चस्तरीय सेवा प्रदान गर्दै अघि बढ्ने विश्वास लिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *