२४ गते नेपाल–भारत पेट्रोलियम पाइपलाइन उद्घाटन गर्ने तयारी

डिसी नेपाल
१७ भदौ २०७६ १६:२०

काठमाडौं । नेपाल–भारत पेट्रोलियम पाइपलाइन यही भदौ २४ गते उद्घाटन हुने भएको छ। प्रधानमन्त्री कार्यालयले पेट्रोलियम पाइपलाइन उद्घाटन सम्बन्धि तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

प्रधानमन्त्री कार्यालय उच्च स्रोतका अनुसार भिडियो कन्फ्रेन्सबाट प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आ आफ्नो कार्यालयबाट स्वीच अन गरेर पाइपलाइन उद्घाटन गर्नेछन्। २४ गते दिउँसो नेपाली समयअनुसार १२ बजेर १५ मिनेटमा पाइपलाइन उद्घाटन गरिने प्रधानमन्त्री कार्यालय स्रोतले जनायो।

प्रधानमन्त्री केपी ओली, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, मुख्यसचिव र उद्योग तथा वाणिज्य मन्त्रालयका दुई जना सचिवसहितको टोली सिंहदरबारमा हुनेछ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल र पेट्रोलियम पाइपलाइन परियोजनाका नेपाली तथा भारतीय प्रमुखहरु उक्त दिन अमलेखगञ्जस्थित डिपोमा हुनेछन् ।

नेपाली समयअनुसार १२ः१५ बजे दुई देशका प्रधानमन्त्रीले संयुक्त रुपमा मोतीहारी डिपोबाट तेल पठाउने भल्भको स्वीच अन गर्नेछन् । यसअघि नै पाईपमा डिजेल भरेर राखिएकाले तत्काल पुनः दुवै प्रधानमन्त्रीले नेपालको अमलेखगञ्ज डिपोमा तेल खस्ने भल्भ पनि स्वीच अन गर्नेछन् ।

करिब ५ मिनेटको यो कार्यपछि भारतको मोतीहारीदेखि नेपालको अमलेखगन्जसम्म ६९.२ किलोमिटर लामो पाइपलाइनबाट नियमित तेल डिपोमा जम्मा हुन थाल्नेछ ।

उक्त पाइपलाइनको साउन २ गते सफल परीक्षण सम्पन्न भएको थियो । पाइपलाइनमा नेपालतर्फ ३७.२५ र भारततर्फ ३२.६५ किलोमिटर पर्दछ । पाइपलाइनबाट तत्काल प्रतिघन्टा २ लाख लिटर डिजेल आयात गर्न सकिने नेपाल आयल निगमले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *