राष्ट्रियसभा : महिला हिंसा अन्त्यका लागि कडा कानुन बनाउन सुझाव

डिसी नेपाल
२५ भदौ २०७६ १३:३६

काठमाडौं। राष्ट्रियसभाका सदस्यहरुले महिला हिंसा अन्त्यका लागि कडा कानुन बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

राष्ट्रियसभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै सांसद धनकुमारी खतिवडाले हत्या, हिंसा र बालिका तथा किशोरीको बलात्कारका घटना बढ्दै गएको भन्दै दोषीलाई कडा कारवाही गर्न सरकारको ध्यानाकर्षण गराइन्।

नवलपरासीमा कार्यालय हिडेकी युवती माथि १० जनाको समुहले सामुहिक बलात्कार, रसुवाका ११ र ६ बर्षिया बालिकाको बलात्कार भएको भन्दै उहाँले दैनिक बालिका र किशोरीमाथिका हिंसाका घटना बढ्दै जादा पनि सरकारले प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन नसकेको टिप्पणी गरिन्।

त्यसैगरी, मुक्ता कुमारी यादवले प्रदेश नम्बर २ को सरकारले बेटी बचाउन बेटी पढाउ नारा अघि सारिरहेकै बेला पढ्न हिँडेकी बालिकामाथि हिंसाका घटना भएको भन्दै संविधान संसोधन गरेर भएपनि अपराधीलाई फासीको सजायको व्यवस्था गर्न माग गरिन्।

सांसद नैनकला ओझाले मोरङको क्षेत्र नम्बर ३ को राधा नगरमा तेल उत्खनन गर्ने भनिए पनि २५ वर्ष देखि काम सुरु हुन नसकेको भन्दै त्यसतर्फ सम्बन्धीत निकायको ध्यानाकर्षण गराइन्।

सांसद प्रकाश पन्थले बैठकमा सांसदहरुले उठाएको सवालको सम्बन्धीत मन्त्रालयले जवाफ दिनेतर्फ गम्भीर नभएको भन्दै संसदीय मामिला हेर्ने कानुन मन्त्रालय र सम्बन्धीत निकायको ध्यानाकषण गराए।

सांसद बलराम प्रसाद बास्कोटाले हरेक चाडपर्वमा र्कितिम अभाव श्रृजना हुने, गुणस्तरहिन सामान र खाद्यान्नमा मिसावट हुने गरेको भन्दै त्यस तर्फ समयमै सोच्न सरकारको ध्यानार्षण गराए।

सांसद मिना बुढाले रोल्पा जिल्लाको शहीद मार्ग पहिरोका कारण अवरुद्ध भएको भन्दै पहिरो हटाई सवारी यातायात सुचारु गराउन सम्बन्धीत निकायको ध्यानाकर्षण गराइन्।

सांसद युटोल तामाङ मुगु जिल्लाका बाढी पहिरो प्रभावितका लागि क्षतिपूर्ति तथा राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *