राजेश र करिश्माको पुरानो गीत ‘रातो टीका निधारमा…’को रिमेक यस्तो बन्यो

डिसी नेपाल
२७ भदौ २०७६ १६:२४

काठमाडौं। ‘रातो टीका निधारमा टलक्क टल्कियो’ बोलको गीत बज्ने वित्तिकै दशैँको सम्झना आउँछ। हरेक दशैँमा धेरैको कानमा गुञ्जिनेमध्येको सर्वाधिक लोकप्रिय गीत हो यो।

यो नेपाली चलचित्र ‘अल्लारे’मा समावेश गरिएको गीत हो। जुन चलचित्रलाई निर्देशक अशोक शर्माले निर्देशन गरेका थिए। अहिले निर्देशक शर्माले यहि गीतको टाइटल सापटी लिएर निर्माण तथा निर्देशन गरेको चलचित्र ‘रातो टीका निधारमा’को शिर्ष गीत रिलिज भएको छ।

काठमाडौंमा एक कार्यक्रम गर्दै गीत रिलिज गरिएको हो। सहदेव ढुंगानाको शब्द, शम्भुजित बास्कोटाको संगीत रहेको पुरानो भर्सनमा महानायक राजेश हमाल तथा नायिका करिश्मा मानन्धर फिचर्ड छन्।

नयाँ भर्सनमा गायक प्रमोद खरेल र गायिका मेलिना राईले गीतमा स्वर दिएका छन्। यस गीतमा पनि पुरानो गीतका संगीतकार शम्भुजित बास्कोटाले नै संगीत दिएका छन्।

त्यस्तै भिडियोमा चलचित्र ‘रातो टीका निधारमा’ का मुख्य कलाकार नव–अभिनेता अंकित शर्मा र साम्राज्ञी आरएल शाहलाई फिचर्ड गरिएको छ। चलचित्रका अन्य कलाकारहरु पनि भिडियोमा देखिएका छन्। गीत हेर्दा दशैँको याद आउँछ। गीतमा सबै दशैँको टीका र नेपाली पोशाकमा नृत्य गरिरहेका देखिन्छन्। भिडियोलाई बसन्त श्रेष्ठले कोरियोग्राफी गरेका हुन्।

असोज १० गते प्रदर्शनको तयारीमा रहेको चलचित्रमा अंकित र साम्राज्ञीसँगै नीता ढुंगाना, रविन्द्र झा, बुद्धि तामाङ, राजाराम पौडेल, शिवहरी पौडेल, बसुन्धारा भुषाललगायतको अभिनय रहेको छ।

पुरुषोत्तम प्रधानको छायांकन रहेको यस चलचित्रमा किरन शर्मा र कृति शर्माको लगानी रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *