अक्सफोर्डशरबाट सुनको ट्वाइलेट चोरी

डिसी नेपाल
२९ भदौ २०७६ २०:५९

वाशिङ्टन (बीबीसी)। अक्सफोर्डशरस्थित ब्लेनम प्यालेसमा राखिएको १८ क्यारेट सुनबाट बनेको एउटा कलात्मक ट्वाइलेट चोरी भएको छ।

चोरहरूको एउटा समूह स्थानीय समयानुसार शनिवार बिहान ४ः५० बजेतिर सो दरबारमा छिरेको टेम्ज भ्याली प्रहरीले जनाएको छ। आगन्तुकहरूलाई प्रयोग गर्न दिइएको उक्त ट्वाइलेटको नाम ‘अमेरिका’ राखिएको थियो।

चोरीको घटनामा संलग्न भएको आशङ्कमामा एक ६६ वर्षीय व्यक्तिलाई पक्राउ गरिएको छ। उक्त ट्वाइलेट चोरी भएपछि सो भवनमा क्षति पुगेको र ट्वाइलेटमा पानी आपूर्ति गर्ने पाइपबाट जताततै पानी नै पानी भएको प्रहरीले जनाएको छ। उक्त कलात्मक वस्तुको मूल्य ५० देखि ६० लाख पाउन्ड पर्ने बताइएको छ।

अठारौँ शताब्दीमा निर्मित उक्त दरबार विश्व सम्पदा सूचीमा छ। ब्रिटेनका भूतपूर्व प्रधानमन्त्री सर विन्स्टन चर्चिलको जन्म यहीँ भएको थियो। उक्त सुनको ट्वाइलेट बिहीवार सुरु भएको इटालीका कलाकार मौरिचिओ कट्टेलानको एउटा कला प्रदर्शनीको अंश थियो।

बहुमूल्य कलाकृति चोरी भएपछि अनुसन्धानका लागि उक्त भवन बन्द गरिएको थियो तर आइतवार खोलियो।

चर्चिल परिवारका सदस्य एड्वर्ड स्पेन्सर चर्चिलले गत महिना आफू उक्त कलाकृतिको सुरक्षाबारे ढुक्क भएको बताएका थिए। ‘यो त्यति सजिलै निकाल्न सकिने वस्तु हैन,’ उनले भनेका थिए।

प्रदर्शनी हेर्न आएका आगन्तुकलाई शौचकर्म गर्न उक्त ट्वाइलेट प्रयोग गर्ने अनुमति दिने गरिएको थियो। तर अरूले धेरै बेर कुर्नु नपरोस् भनेर तीन मिनेटमा काम सकिसक्नुपर्ने नियम थियो।

चोरहरूले कम्तीमा दुईवटा गाडी प्रयोग गरेको हुन सक्ने प्रहरीको आशङ्का छ। ब्लेनम प्यालेसका प्रमुख कार्यकारी डोमिनिक हेअरले उक्त घटनाबाट आफूहरू दुःखी भएको बताएका छन्।

‘यो मूर्खतापूर्ण र अर्थहीन कार्यबाट हाम्रा प्रिय मित्र मौरिचियो कट्टेलानको कला अमर हुनेछ भन्ने हाम्रो विश्वास छ,’ उनले भने।

चोरले उक्त कलाकृति पगाल्न सक्ने सम्भावना भएको भन्दै उनले दुःख प्रकट गरे। सन् २०१७ मा उक्त ट्वाइलेट प्रयोग गर्न अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई निम्तो दिइएको थियो। पक्राउ परेका व्यक्ति प्रहरी हिरासतमा छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *